चितवनः जिल्लामा पाँच सय ९६ जना भूकम्प प्रभावित थपिएका छन् । राष्ट्रिय पुननिर्माण प्राधिकरणले यहि मङ्सिर १५ गते गरेको निर्णय अनुसार सो संख्यामा लाभग्राही थपिएका हुन ।
प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन ईकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्बाधार भरतपुरका अनुसार थपिनेमा ३ सय ७ जना पुननिर्माण तर्फ र २ सय ८९ जना आंशिक क्षती तर्फ रहेका छन् । कार्यालयले गत जेठ मसान्त सम्म लिएको गुनासोका आधारमा उनीहरु लाभग्राहीको सूचिमा थपिएको हो ।
कार्यालयका ईन्जीनियर सुजन नेपालका अनुसार सो समय सम्म ९ हजार ५ सय ६९ जनाको गुनासो केन्द्रमा पठाईएको थियो । त्यही मध्येबाट प्राधिकरणले लाभग्राही थप गरेको हो । उहाँका अनुसार थप भएका लाभग्राहीहरुकोमा सोमबारबाट प्राबिधिक जाने काम सुरु भएको छ ।
यस्तै कार्यालयले जिल्लाको पुननिर्माणको ६८ प्रतिशत काम सम्पन्न भएको जनाएको छ । ७ हजार ४ सय ६० लाभग्राही मध्ये ४ हजार ५ सय ९५ जनाले तेस्रो किस्ता बापतको रकम निकासा गरिसकेका छन् । यस्तै दोस्रो किस्ता बापतको रकम ५ हजार ५ सय ४० जनाले लिई सकेका छन् । पहिलो किस्ता सम्झौता गर्नेको संख्या ६ हजार ८ सय ५९ रहेको छ ।
मङ्सिर १५ गतेको निर्णयले लाभग्राहीको संख्या थप भई ७ हजार ७ सय ६७ पुगेको छ । उनीहरुले पहिलो किस्ता बापत रु ५० हजार, दोस्रो किस्ता बापत रु १ लाख ५० हजार र तेस्रो किस्ता बापत रु १ लाख प्राप्त गर्ने छन् । यस्तै आंशिक १ हजार ४६ मध्ये ६ सय ५४ जनाको रकम निकासा भई सकेको छ । आंशिक तर्फ १ हजार ३ सय ३५ पुगेको नेपालले जानकारी दिनुभयो ।