चितवनः भ्रमण वर्षको संघारमा पोखरामा हुन लागेको सडक महोत्सबका लागि प्रचार प्रसारको टोली जिल्ला दौडाहामा रहेको छ । सोही क्रममा पोखराको टोली चितवन आईपुगेको छ ।
रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेबान) पोखराले हरेक वर्ष आयोजना गर्ने पोखरा सडक महोत्सबको प्रचार प्रसारका लागि रेबान पोखराको टोली चितवन आएको हो । पुस १२ गते देखि १६ गते सम्म पोखराको पर्यटकीय केन्द्र लेकसाईटको तीन किलो मिटर क्षेत्रमा २१ औं सडक महोत्सब गर्न लागिएको छ ।
रेबान पोखाराले आज सौराहामा आयोजना गरेको पत्रकार सम्मेलनमा सडकमै खाऔं, सडकमै रमाऔं भन्ने नाराका साथ महोत्सब गर्न लागिएको जानकारी गराईएको थियो । यस वर्षको महोत्सब सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष सन २०२० को सुभारम्भ संगै हुँदै छ ।
यसको प्रचार प्रसारका लागि रेबान पोखराको टोली ईटहरी, जनकपुर हुँदै चितवन आई पुगेको हो । महोत्सबका सह संयोजक नरेश भट्टराईका अनुसार रु ७० लाखको हाराहारीमा खर्च गरि आयोजना गर्न लागिएको सो महोत्सबमा रु ८५ लाख बराबरको आम्दानी हुने अपेक्षा लिईएको छ । महोत्सबको मुख्य आकर्षक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साँस्कृतिक कार्यक्रम, नेपालको लोपउन्मुख साँस्कृतिक कार्यक्रम तीन किलोमिटर सडकमा रहेका स्टेजहरुमा प्रदर्शन गरिने, सडकमानै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकारहरु रहेका छन् ।
यस्तै हस्तकला प्रदर्शनी, बिभिन्न मनोरञ्जनात्मक खेलकुदका कार्यक्रम, साहसिक पर्यटन खेलकुद वृतचित्र प्रदर्शनी, बाल उद्यान, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रर्दशनी लगाएतका रहेको सो अबसरमा जानकारी दिईएको थियो । सो महोत्सबमा चितवन, काठमाडौं, बिरगञ्ज, भैरहवा, जनकपुर, लुम्बिनी लगाएतका जिल्लाहरुबाट र छिमेकी देश भारतको लखनउ, गोरखपुरबाट पर्यटक आउने गरेको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।
सडकमानै बिभिन्न प्रकारका २ हजार भन्दा वढि स्टलहरु रहने सो महोत्सबमा खानाको परिकारसंगै रमाउन सकीने भट्टराईले जानकारी दिनुभयो । पर्यटन प्रवर्धनका लागि गण्डकी प्रदेश र पोखराका पर्यटन व्यवसायीहरुसंगै मिलेर लागेको रेबान पोखराका महोत्सब प्रवर्धन समितिका संयोजक सूर्य बहादुर भूजेलले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा रेबान सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडाले पोखराको पर्यटन प्रवर्धन संगै ती पर्यटहकहरुलाई चितवन ल्याउनका लागि सहकार्य भईरहेको बताउनुभयो । पोखरामा हुने यस महोत्सबमा चितवनको पर्यटकीय क्षेत्रहरुको वारेमा जानकारी गराईने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !