चितवनः ‘एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्प–२’ को उपाधि सौगात आचार्यले जित्नु भएको छ । आज वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा भएको फाइनल प्रतिस्पर्धामा ९ जनालाई पछि पार्दै सौगातले उपाधि हत पारेका हुन् । अरोमा कलेजमा अध्ययरत सौगातले उपाधिसंगै नगद ५० हजार रुपैयाँ पुरस्कार समेत प्राप्त गर्नु भएको छ ।
यस्तै एकता शिशु निकेतनका आशिष बन्जारा फष्ट रनरअप घोषित भहुनुभएको छ । उहाँले ३० हजार नगद र ट्रफी हात पर्नुभयो । त्यस्तै स्काइराईडर स्कुलकी आयुष्मा पोखरेल सेकेण्ड रनरअप घोषित हुनुभयो । उहाँले नगद २० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नुभएको थियो ।
विजेताहरुलाई एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस चितवनका प्रमुख डिल्लीराम अधिकारी, काठमाडौं कार्यालयका विजनेश डेभलपमेण्ट म्यानेजर विकास ज्ञवाली, मिस्टर नेपाल वल्र्ड विकल्पराज श्रेष्ठलगायतले पुरस्कार प्रदान गनुभएको थियो ।
फाइनल प्रतिस्पर्धाको निर्णायकहरुमा पुराना संचारकर्मी मनोज घिमिरे, प्रवेश किरण अधिकारी, मिस्टर नेपाल वल्र्ड विकल्पराज श्रेष्ठ रहनुभएको थियो । वभिन्न चरणका अडिसनबाट फाइनल प्रतिस्पर्धामा १० जना प्रतियोगी छनौट भएका थिए ।
विमोचन इभेन्ट एण्ड इन्टरटेनमेन्ट प्रालिको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा चर्चित कलाकार निशान भट्टराई, नेपाल आइडलमा आफ्नो कला देखाएकी स्वस्तिका ढकाललगायतले सांगीतिक प्रस्तुती गर्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले यस प्रकारका कार्यक्रमले विद्यार्थीहरुको बोल्ने कलाको विकास हुनुको साथै आत्मविश्वास समेत बढ्दै जाने बताउनुभयो । उहाँले राज्यले गर्नुपर्ने कार्य निजी क्षेत्रबाट भएकोमा खुशी व्यक्त गर्दै यसले युवाहरुलाई समाजप्रति उत्तरदायी बन्न प्रोत्साहन मिल्ने बताउनुभयो । उहाँले विद्यार्थीहरुलाई विदेश गए पनि नेपालमै आएर आफूले सिकेको सिप प्रयोग गर्दै राष्ट्र निर्माणमा अघि बढ्न आग्रह गनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस चितवनका प्रमुख डिल्लीराम अधिकारीले विद्यार्थीको बोल्ने कलाको विकासमा यस कार्यक्रम फलदायी बनेको बताउनुभयो । विमोचन आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ सेन्टरका प्रमुख यज्ञविलास पौडेललगायतको उपस्थिति रहेको थियो ।
यस पटक यस प्रतियोगितामा सहभागि विद्यार्थीहरुलाई विभिन्न सामाजिक कार्यमा सहभागि गराइएको थियो । साथै उनीहरुलाई काठमाडौं आएका ख्यातिप्राप्त व्यक्तिहरुबाट बोल्ने कला सम्बन्धि प्रशिक्षण दिइएको थियो ।
स्पिकिङ च्याम्पमा कक्षा ७ देखि १२ सम्मका विद्यार्थीहरु सहभागि भएका थिए ।