चितवनः घोषित रुपमा लोडसेडीङ् नभए पनि प्राविधिक कारण समय समयमा बिद्युत आपूर्तीमा समस्या हुने गरेको छ । लामो क्षेत्रमा एउटै फिडरबाट तानीएका तार र पुराना ट्रान्सफरमरमा देखिने समस्याका कारण पटक पटक बिद्युत अबरुद्ध हुँदा अत्यावश्यक क्षेत्रहरु प्रभाबित हुँदै आएका छन् ।
भ्रमण वर्ष सन २०२० लाई लक्षित गर्दै पर्यटकीय क्षेत्र सौराहामा बिद्युत अवरुद्ध नहुने गरि तयारी थालिएको छ । नेपाल बिद्युत प्राधिकरणको टाँडी बितरण केन्द्रले नयाँ फिडर जडान गरि सौराहा क्षेत्रमा बिद्युत आपूर्ती गराउन लागेको छ । केन्द्रका प्रमुख चुतुनकुमार श्रीबास्तबका अनुसार पर्शा सब स्टेशनबाट खैरहनी, कुमरोज, बुढ्यौंली हुँदै हाल सौराहा बिद्युत पुर्याईएको छ ।
लामो क्षेत्र भएकाले तार, पोल, ट्रान्सफरमरमा देखिने समस्याका कारण पटक पटक बिद्युत अबरुद्ध हुँदै आएको उहाँले बताउनुभयो । केन्द्रले सो क्षेत्रलाई लक्षित गर्दै पर्शाबाट राजमार्ग हुँदै सौराहाचोकको बाटो सोझै सौराहा सम्म तार तानेर नयाँ फिडरमार्फत बिद्युत बितरण गर्न लागेको हो ।
पर्शा सब स्टेसनमा हाल चारवटा फिडर रहेका छन् । यसलाई बढाएर ६ वटा पुर्याउने तयारी गरिएको छ । भरतपुरबाट गएको ३३ हजार केभिए बिद्युतले नपुगेपछि ११ हजार केभिएको छुट्टै तार मार्फत सोही क्षेत्रमा बिद्युत पुर्याईएको छ । श्रीबास्तबले पुष महिना भित्रमा सौराहामा बिद्युत अबरुद्ध नहुने गरि व्यबस्थापन गरिने बताउनुभयो । क्षेत्रीय होटल संघ सौराहाको टोलीले केही दिन अघि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भेट गरि भ्रमण बर्षमा बिद्युत अबरुद्ध नहुने व्यबस्था गरिदिन आग्रह गरेको थियो ।
देशकै तेस्रो पर्यटकीय गन्तव्य सौराहा चितवन राष्ट्रिय निकुञ्जको प्रबेशद्धार हो । सो क्षेत्रमा १ सय २० वटा होटल रहेका छन् । भ्रमण बर्षमा चार लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस !