चितवनः नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले सरकारले लोकतन्त्रको खिलापमा बेथिती, लुटतन्त्र र फाँसिवाद तर्फ वढ्दै गएको बताउनुभयो । नेपाली काङ्ग्रेस चितवनले आज यहाँ आयोजना गरेको उपनिर्वाचनमा बिजयी वडा अध्यक्षहरुको बधाई, सम्मान तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले सरकारले दुईतिहाईको दम्भका कारण समाजमा आर्थिक गतिविधि माथि हस्तक्षप गर्दै अघि बढेको आरोप लगाउनुभयो ।
निर्वाचनमा जनतालाई झुक्याएर मत लिए जस्तो जनताको काम गर्न सहज नरहेको उहाँको भनाई थियो । नेता महतले जनता बिधिको शासनको पक्षमा रहेको बताउनुभयो । जसले बिधि मान्यो त्यसैलाई जनताले छानेको उहाँको भनाई थियो ।
उपनिर्वाचनमा नेपाली काङ्ग्रेसलाई ठाउँठाउँमा निर्वाचित गराएर जनताले यस अघि गरेका गल्ती सच्याएको भन्दै उहाँले सरकार प्रति जनताको बितृष्णा जागेको दाबी गर्नु भयो । उहाँले भन्नुभयो “जनताले अबको शक्तीका रुपमा काङ्ग्रेसलाई लिएका छन् ।” महतले दुई तिहाईको अहिलेको सरकारले जनताको आँखामा छारो हालेको आरोप लगाउनु भयो ।
सोही अवसरमा काङ्ग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले नेपाली जनताले उपनिर्वाचन मार्फत नेपाली काँग्रेसलाई प्रस्फुटीत गराएको बताउनुभयो । कम्युनिष्टको दुइ तिहाइको सरकार भएको बेलामा नेपाली जनताले लोकतन्त्रको रक्षाका खातिर नेपाली काङ्ग्रेसलाई सबल र सुदृढ गराउने चाहना देखाएको उहाँको भनाई थियो ।
वर्तमान सरकारले प्रजातान्त्रिक मूल्य मान्यतालाई कम्जोर बनाउने काम गरिरहेको आरोप लगाउँदै उहाँले भन्नुभयो “सरकारले हरेक पक्षमा मानव अधिकार, लोकतन्त्र, प्रेस स्वतन्त्रता, लोकतान्त्रिक मूल्य पद्धतीलाई कम्जोर बनाउने काम गरिरहेको छ, हामी सचेत हुनुपर्छ ।”
यही मङ्सिर १४ गते भएको उपनिर्वाचनमा बिजयी हुनुभएका भरतपुर महानगरपालिका वडा नम्वर १६ का अमृतराज हमाल, खैरहनी नगरपालिका वडा नम्वर ४ का देबबहादुर बस्नेत र ५ का प्रतिमा कार्की बस्नेत अध्यक्षमा निर्बाचित हुनु भएको थियो । उहाँहरुलाई सो अवसरमा सम्मान गरिएको थियो ।
कार्यक्रम नेपाली काङ्ग्रेस चितवनका सभापती जीतनारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काङ्ग्रेस चितवनका उपसभापती कैलाश कोईराला, भरतपुर महानगरपालिकाका उपप्रमुख पार्बती शाह ठकुरी र वडा नम्वर १६ का नव निर्वाचित अध्यक्ष अमृतराज हमालले बोल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !