चितवनः चितवन राष्ट्रिय निकुञ्ज घुम्ने नेपाली पर्यटकको संख्या बढेको छ । गत वर्षको चार महिनाको तुलनामा यस वर्ष पर्यटक आगमन बृद्धि भएको हो ।

निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका यस वर्ष नेपालीको संख्या २४ हजार ४३५ रहेका छन् । गत वर्ष यस अवधिमा नेपाली ९ हजार ८५५ जनाले निकुञ्जको भ्रमण गरेका थिए । यस्तै यस वर्षमा सार्क मुलुकका ६ हजार ५२७ र विदेशी ३८ हजार ३३० रहेका छन् । जसमध्ये नेपालीको संख्या गत वर्षभन्दा १४ हजार ५८० ले बृद्धि भएको छ । गत वर्ष सार्क मुलुकका ५ हजार ३३१ र विदेशी ३९ हजार ४३७ जना रहेका थिए ।
घिमिरेका अनुसार गत वर्षको यसै अवधिको भन्दा यस वर्ष २६.८५ प्रतिशतले पर्यटक बढेको छ । तथ्यांक अनुसार गत वर्षको साउनदेखि कात्तिकसम्म ५४ हजार ६२३ पर्यटकले निकुञ्ज घुमेका थिए । यस वर्ष यो संख्या १४ हजार ६६९ ले बढेर ६९ हजार २९२ पुगेको छ ।
विदेशीको संख्या १ हजार १०७ घटेको छ भने सार्क मुलुकका पर्यटक १ हजार १९६ ले बढेको छ । समग्र तथ्यांकलाई केलाउँदा नेपालीको संख्या बढे पनि विदेशी पर्यटक भने बढ्न सकेको छैन । गत आर्थिक वर्षमा १ लाख ७८ हजार १०९ पर्यटकले निकुञ्ज घुमेका थिए ।

यस अघि भूकम्प र नाकाबन्दीपछि पर्यटकको संख्या निकै गिरावट आएको घिमिरेले बताउनुभयो । आर्थिक वर्ष २०७१÷०७२ मा १ लाख ७८ हजार २५७ जना पर्यटकले निकुञ्ज घुमेका थिए । निकुञ्जको इतिहासमा हालसम्मकै यो उच्च संख्या हो । यस वर्षको चार महिनालाई हेर्दा र भ्रमण वर्ष मनाउन लागिएकाले चालु वर्षमा हालसम्मकै उच्च पर्यटक आउने अपेक्षा गरिएको छ ।

चितवनमा मुख्य रुपमा निकुञ्जभित्र दुर्लभ वन्यजन्तु बाघ, गैंडा जस्ता जनावर हेर्न, राप्ती नदीमा डुंगा सयर र थारु संस्कृति हेर्न पर्यटक आउने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस !