चितवनः चितवन मेडिकल कलेजले सरकारसंग भएको सहमती अनुसार वढि लिईएको रकम फिर्ता वा समायोजन गर्ने प्रकृया सुरु गरेको जनाएको छ । कलेजले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरि मङ्सिर १० गते शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीको अध्यक्षतामा मेडिकल कलेजका संञ्चालकहरु सहितको बैठक पछि भएका सहमती कार्यान्वयन प्रक्रिया अन्तर्गत वढि लिईएको शुल्क फिर्ता वा समायोजनको प्रकृया सुरु गरेको जनाएको हो ।
कलेजका अध्यक्ष एवं प्रवन्ध निर्देशक प्रा.डा. हरिशचन्द्र न्यौपानेले सरकार संग भएका दुई वुद्धे सहमती पालना गर्न थालिएको बताउँदै बुधबारबाट प्रकृया अघि वढाएको जानकारी दिनुभयो । सहमतीमा विश्वविद्यालयबाट परामर्शगरी बैंकिंङ्ग प्रणालीद्वारा विद्यार्थी भर्ना प्रक्रिया थालनी गरिएको शैक्षिक सत्र २०७४÷०७५ र २०७५÷०७६ मा नेपाल सरकारले निर्धारण गरेको शुल्कभन्दा बढी रकम लिएका मेडिकल कलेजहरुले बुधबारबाट बढी लिएको रकम फिर्ता वा समायोजनको कार्य थालनी गर्ने उल्लेख छ । त्यसै गरि शैक्षिक सत्र २०७२÷०७३ र २०७३÷०७४ को हकमा विश्वविद्यालयहरुको समन्वयमा अध्ययन, छलफल र छानबिन गरी चिकित्सा शिक्षा आयोगबाट उपयुक्त निर्णय लिन चिकित्सा शिक्षा आयोग समक्ष अनुरोध गर्ने भन्ने उल्लेख छ ।
न्यौपानेले मन्त्रालयमा उक्त सहमती हुनुअघि नै चितवन मेडिकल कलेजले गत शैक्षिक सत्रमा लिइएको अतिरिक्त शुल्क समायोजन गर्ने घोषणा गरेको भए पनि कार्यान्वयनका लागि आन्दोलनरत विद्यार्थी र अभिभावकबाट अपेक्षित सहयोग नपाएका कारण सफल हुन नसकेको सो अवसरमा जानकारी दिनुभयो ।
न्यौपानेले भन्नुभयो “सरकारसँग मेडिकल कलेज सञ्चालकहरुका पनि केही असहमतीहरु थिए र छन् । तर पनि नियमन गर्ने र अभिभावक भनेकै सरकार भएकाले, सरकारले दिने निर्देशन र सहमती पालना गर्नु मेडिकल कलेजहरूको दायित्व हो र त्यसमा हामी दृढ छौ ।” सरकारसँग भएको सहमतीले नेपालको मेडिकल शिक्षाका आउने दिनहरु विवादरहित हुन्छन् भन्ने अपेक्षा गरिएको पनि उहाँको भनाई थियो ।
सरकारसँग भएको सहमती पछि आन्दोलरत विद्यार्थीहरुको माग पनि पुरा भएको बुझाई मेडिकल कलेज सञ्चालकहरुको रहेको भन्दै उहाँले आन्दोलरत विद्यार्थीहरुलाई तत्कालै आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएर पठनपाठनको सहज वातावरण बनाउन र भएको सहमती कार्यान्वयन गर्न आवश्यक सहयोग गर्न आग्रह गर्नुभयो ।
पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा विद्यार्थी आन्दोलनका कारण विश्वविद्यालयले करिब एक महिना पछि सारेको वार्षिक परीक्षा नजिकिसकेको अवस्थामा विद्यार्थीहरुले परीक्षाको तयारी गर्नुहुन तथा वार्षिक परीक्षा सारिएको कारणले प्राज्ञिक पात्रोमा असर पर्न सक्ने भएकाले त्यसतर्फ समेत सचेत रहनुहुन सम्पूर्ण सरोकारवाला विद्यार्थीहरु तथा अभिभावकहरुमा आग्रह गर्न चाहन्छौँ भनिएको छ ।
यता बिद्यार्थीहरुले भने सरकारसंग भएको मेडिकल कलेज संञ्चालकहरुको सहमती मान्य नभएको भन्दै आन्दोलनलाई निरन्तरता दिएका छन् ।

प्रतिक्रिया दिनुहोस !