चितवनः जिल्लाका तीन वडामा हुने उप निर्वाचनको तयारी पुरा भएको छ । यहि मङ्सिर १४ गते भरतपुर महानगरपालिका वडा नम्वर १६ र खैरहनी नगरपालिकाको वडा नम्वर ४ एवं ५ को वडा अध्यक्षका लागि उप निर्वाचन हुँदैछ ।
जिल्ला निर्वाचन अधिकारी हरि प्रसाद ढकालका अनुसार मतदान अधिकृत र सहायक मतदान अधिकृत आज निर्वाचन केन्द्रमा जाँदै छन् । उनीहरु सहित ७५ जना कर्मचारी छनोट भई केन्द्रमा खटिदैं छन् । कर्मचारी सबैले प्रशिक्षण लिई सकेका छन् । मतदान अधिकृतहरुले निर्वाचन केन्द्रमा आबश्यक थप ६० जना स्वयम सेवक नियुक्त गर्ने छन् ।
मतदान केन्द्रमा आज निर्वाचन सम्वन्धि जानकारीको सुचना टाँस गरिने छ । ढकालले विहिबार र शुक्रबार केन्द्रबाट मतदाता परिचय पत्र वितरण गरिने छ भने सर्वदलिय बैठक वसेर आबश्यक निर्णय गरिने जानकारी दिनुभयो । तीनै दुई दिन मतदान केन्द्र निर्माण गरिने छ ।
मतदानका लागि आवश्यक सामाग्री कर्मचारीहरुले विहिबार र शुक्रबार क्रमश वुझेर लानेछन् । जिल्लाको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत हेमन्त रावल नियुक्त हुनु भएको छ ।उहाँले भरतपुर महानगरपालिका वडा नम्वर १६को निर्वाचन समेत हेर्नुहुनेछ । खैरहनीका लागि निर्वाचन अधिकृत विद्याराज पौडेल नियुक्त हुनुभएको छ ।
निर्वाचन क्षेत्रका लागि सुरक्षाको सम्पूर्ण प्रबन्ध मिलाईएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक दानवहादुर मल्लका अनुसार नेपाल प्रहरी मतदान केन्द्र र प्रबेश नाकाहरुमा तैनाथ हुनेछ । मतदान केन्द्रको वाहिरी घेरामा शशस्त्र र त्यसको वाहिर नेपाली सेना परिचालन हुने उहाँले जानकारी दिनुभयो । त्यसका लागि सवै तयारी भएको मल्लको भनाई छ । निर्वाचन पूर्व त्यस क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको उहाँले वताउनुभयो ।
जिल्लामा ६ वटा मतदान स्थल र १५ वटा केन्द्र तय गरिएको छ । भरतपुर महानगरपालिका वडा नम्वर १६ मा ८ हजार ४ सय ८१, खैरहनी नगरपालिका वडा नम्वर ४ मा २ हजार ६ सय ९२ र वडा नम्वर ५ मा २ हजार १ सय ११ मतदाता रहेका छन् ।
सवारी दुर्घटनामा खैरहनीका वडा अध्यक्षहरुको निधन भएको र भरतपुर १६ का वडा अध्यक्षको क्यान्सर रोगका कारण निधन भएकाले उपनिर्वाचन हुन लागेको हो । तीन वठा वडामा पाँच वटा राजनैतिक दलका १३ जना उम्मेदवार चुनावि मैदानमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !