चितवनः कारागार कार्यालय चितवनमा कैदी वन्दीको चाप वढ्दै गए पछि स्थानान्तराण्को प्रकृयालाई तिव्र पारिएको छ । कार्यालयका प्रमुख कमल प्रसाद काफ्लेका अनुसार चालु आर्थिक वर्षमा विभिन्न मितिमा गरि ९६ जना कैदी वन्दीको स्थानान्तरण गरिएको छ ।
पछिल्लो पटक कात्तिक ३० गते १२ जना महिला र ५ जना पुरुष गरि १७ जनालाई कारागार कार्यालय पाल्पा पठाईएको छ । महिला संगै एक आश्रीत बच्चा पनि रहेको उहाँले वताउनुभयो । कार्यालयमा कैदी वन्दीको चाप वढे संगै उनीहरुलाई स्थानान्तरण गरिएको काफ्लेले जानकारी दिनुभयो ।
यस अघि भदौ ५ गते विरगञ्ज कारागारमा २४ जना, कात्तिक ३ गते मकवानपुरको भिमफेदी कारागारमा ५४ जना र कास्कीमा एक जना स्थानान्तरण गरिएको थियो । कारागारको क्षमता पुरुष तर्फ २ सय ५५ र महिलाको २५ जना रहेको छ । अहिले यस कारागारमा ६३ जना महिला र ७ सय ९ जना पुरुष रहेका छन् ।
छिमेकी जिल्ला मकवानपुरमा महिला वन्दि गृह नहँुदा र नवलपुरमा अदालत स्थापना भए पनि कैदी वन्दी राख्नका लागि कारागार नहुँदा चितवनमा चाप वढेको उहाँले वताउनुभयो । अहिले कारागारमा कैदी वन्दी राख्नका लागि समेत समस्या पर्ने गरेको र सुताउनका लागि ठाउँ समेत साँघुरो हुँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस !