चितवनः चौथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०७६ चितवनमा हुने भएको छ । यहि मङ्सिर ६ गते देखि ९ गते सम्म चितवन उद्योग संघले निर्माण गरेको प्रदर्शनी केन्द्रमा प्रदर्शनी गर्न लागिएको हो ।
आयोजकले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी प्रदर्शनीको तयारी पुरा भएको जानकारी गराएको हो । एकै थलोमा कृषि सम्वन्धि आधुनिक प्रविधि, विभिन्न कृषि औजार, उपकरण, यन्त्रहरु तथा सेवाहरुका वारेमा कृषकलाई जानकारी गराउने उद्देश्यका साथ यो प्रदर्शन गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो । कृषि तथा पशुपन्छी मन्त्रालय, कृषि विभाग, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्दन केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, प्रदेश नम्वर तीनको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, नेपाल कृषि मेशिनरी व्यवसायी संघको संयुक्त आयोजनामा हुन लागेको सो प्रदर्शनीमा एक सय भन्दा वढि स्टलहरु रहेने छन् ।
नेपाल कृषि मेशिनरी व्यवसायी संघका महासचिव कृष्ण शर्माका अनुसार २० भन्दा वढि देशका दुई हजार भन्दा वढि कृषि यन्त्र, औजार, उपकरण तथा प्रविधिहरुलाई प्रदर्शनीमा राखिने छ । प्रदर्शनीको ७० जिल्लाका ३५ हजार भन्दा वढि कृषकले अवलोकन गर्ने अपेक्षा लिईएको सो अवसरमा जानकारी गराईएको थियो । रु १० करोड भन्दा वढिको कारोवार हुने अनुमान गरिएको प्रदर्शनीमा कृषक, नीति निर्माता, उद्यमी, व्यवसायी, सरकारी एवं गैह्र सरकारी संस्था, कृषक समुह, कृषि सहरकारी संस्था, वैज्ञानीक, शिक्षक, विद्यार्थीहरुले अवलोकन गर्ने आयोजकले जानएको छ ।
प्रदर्शनीमा कृषि औजार, उपकरण उत्पादक उद्यमी व्यवसायीहरु, आयातकर्ता, वितरक, डिलरहरुले प्रदर्शनी गर्नेछन् । नेपालमा परम्परागत रुपमा गरिने खेतिलाई विकास गरि कृषि क्षेत्रमा युवा पुस्ताको आकर्षण वढाउनका यो प्रदर्शनी गर्न लागिएको संघका सल्लाहाकार मधुसुधन सिंह वस्नेतले जानकारी दिनुभयो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका जगन्नाथ तिवारीले आयआर्जनका क्रममा युवाहरुलाई सहभागि गराउनका लागि हरेक वर्ष कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । २०७० सालमा नारायणी नदि किनारवाट सुरु गरिएको प्रदर्शनी दोस्रो पटक २०७२ सालमा बाँके र तेस्रो प्रदर्शनी २०७४ सालमा धरानमा प्रदर्शनी गरीएको थियो ।
कार्यक्रमको पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस !