चितवनः पूर्वी चितवनको खैरहनी नगरपालिकाले स्वयम सेवक शिक्षक नियुक्त गर्न सुरु गरेको छ । कुनै पनि शिक्षक विरामी हुँदा, सुत्केरी विदामा वस्दा विद्यालयको पठनपाठन प्रभावित नहोस भनेर उनीहरु (विरामी परेका, सुत्केरी विदा वसेका शिक्षक) नआउँदा सम्म नगरपालिकाले स्वयम सेवक शिक्षक राख्ने व्यवस्था सुरु गरेको हो ।
जसका कारण शिक्षकको अभाव पूर्ती हुनुका साथै शिक्षाको गुणस्तर विकासमा समेट टेवा पुग्ने खैरहनी नगरपालिकाका स्थानीय शिक्षा अधिकारी महेन्द्र पौड्यालले वताउनुभयो । स्वयम सेवक शिक्षक नियुक्त गर्ने खैरहनी नगरपालिका संभवत पहिलो स्थानीय सरकार हो । कुनै पनि विद्यालयमा शिक्षक नभएकै कारण पठनपाठन प्रभावित हुने अवस्था थियो स्थानीय शिक्षा अधिकारी पौड्यालले भन्नुभयो “स्वयम सेवक शिक्षकले त्यस्तो अभाव पूर्ती गरि नियमित पठपाठन हुनेछ ।”
शिक्षकहरु विरामी विदा र सुत्केरी विदा वस्दा पठनपाठनमा समस्या हुदै आएको थियो । स्वयम सेवक शिक्षक नियुक्त गर्न कार्यविधि वनाएरै यस्तो निर्णय लागु भएको हो । पौड्यालका अनुसार प्राप्ताङ्कका आधारमा छनौटको प्रक्रिया र प्राथमिकता निर्धारण गरिने कार्यविधि वनाईएको र शैक्षिक प्रमाणपत्रमा ल्याएको नम्बर वा जीपीएलाई आधार मानेर शिक्षक छनौट गरिने छ ।
आधारभूत र माध्यमिक तहमा सूचीकृत भएका स्थानीय युवाले स्वयंसेवक शिक्षक हुन पाउनेछन् । स्वयंसेवक शिक्षकका लागि नगरपालिकाले आधारभूत तह दस हजार र माध्यमिक तह भएमा मासिक १५ हजार यातायात खर्चका रूपमा भुक्तानी गर्ने खैरहनी नगरपालिकाका प्रमुख लालमणी चौधरीले बताउनुभयो ।
स्वयंसेवक शिक्षकले एकदेखि तीन महिनासम्म पढाउन पाउने भए पनि आवश्यकता अनुसार करार सम्झौताको नवीकरण पनि हुनसक्ने प्रमुख चौधरीको भनाई छ । स्थानीय बिस्मिता तामाङसँग नगरपालिकाले पहिलो पटक आधारभूत स्वयंसेवक शिक्षक नियुक्तिको सम्झौता गरेको छ ।
उहाँलाई कात्तिक २९ गते देखि लागु हुने गरि गवै माध्यमिक विद्यालयमा नियुक्त गरिएको हो । नगरपालिकामा रहेका २७ वटा सामुदायिक विद्यालयका लागि पहिलो चरणमा आधारभूत तहमा १४ र माध्यमिक तहमा ६ जना युवाले स्वयंसेवक शिक्षक हुन पाउँ भनी सूचीकृत भएका छन् । नगरपालिकाले चालु आर्थिक वर्षमा स्वयंसेवक शिक्षक कार्यक्रमका लागि पाँच लाख रुपैयाँ विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस !