चितवनः ईच्छाकामना गाउँपालिका वडा नम्वर ३ फिस्लिङमा रहेको अस्थायी प्रहरी चौकीबाट हाम फालेर मृत्यु भएका भनिएका नेपाली सेनाका जवानको परिवारले किटानी जाहेरी दर्ता गराएका छन् । अस्थायी प्रहरी चौकी फिस्लिङ्मा कार्यारत प्रहरी जवान ठाकुर ढकालको नाममा मृतकका परिवारले हत्याको आशंका गर्दै किटानी जाहेरी दर्ता गराएका हुन ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक दानवहादुर मल्लले किटानी जाहेरी परेको र ढकाललाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको जानकारी दिनुभयो । ईच्छकामना गाउँपालिका वडा नम्वर ५ निवासी २८ वर्षिय राम कंडेल ईच्छाकामना गाउपालिका वडा नम्वर ३ फिस्लिङमा रहेको अस्थायी प्रहरी चौकीमा राखिएको समयमा आज विहान बरण्डावाट हाम फालेर घाईते भएको प्रहरीले जनाएको थियो । घाईते कडेलको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको थियो ।
कडेलको मृत्यु पछि स्थानीयले हत्या भएको भन्दै आज दिउँसो तीन घण्टा पृथ्वी राजमार्ग अवरुद्ध गराएका थिए । मृतक कडेलको शव परिक्षणका लागि शिक्षण अस्पताल महाराजगंञ्ज लगिएको छ । मल्लका अनुसार नेपाली सेना, प्रहरी र परिवारको साथमा साँझ शव काठमाडौं पठाईएको हो ।
प्रहरीले आज विहान फिस्लिङ क्षेत्रमा झैझगडा गरेपछि नियन्त्रणमा लिईएका कडेल प्रहरी चौकीको तल्लो तलाको वरण्डाबाट हामफाल्दा घाईते भएको जनाएको छ । कडेल सिन्धुलिको वर्दवहादुर गणका सिपाही हुन । विहान ७ः३० वजे लडेर घाईते भएका उनको भरतपुर अस्पतालमा उपचारका क्रममा ८ः४० वजे मृत्यु भएको प्रहरीले जनाएको छ । परिवारले भने हत्या भएको दावि गर्दै जाहेरी दर्ता गराएको हो ।