चितवनः आज दिउँसो करिव ३ वजेको थियो । नारायणी कलामन्दीरमा एकोहोरो शंख वज्दै थियो । शंख वजाउने कलाकार थिए हास्य व्यङ्य कलाकार मनोज गजुरेल । उनी शंख वजाउँदै एकोहोरो कराउँदै आउँदा दर्शक दिर्घामा रहेका सवै दंग पर्दै थिए । उनले भने “हे आकाशैं वाधौ, पतालै वाधौ , कर नतिर्नेको घर जग्गा वाँधौ, भ्रष्टाचार गर्नेलाई जेलमा खाँदौ ।”
गजुरेलको यो प्रस्तुति सुनिरहँदा दर्शक दिर्घामा रहेका कसैको अनुहारमा हासो रोकीन सकेको थिएन । यो कार्यक्रम रहेको थियो, आन्तरिक राजस्व बिभागको आयोजना एवं आन्तरिक राजस्व कार्यालय भरतपुरको संयोजनमा आज नारायणीकला मन्दिरमा सिस्नुपानी नेपालले हास्यव्यङ्य प्रस्तुतिकरण गरेको छ । कर सचेतना र भ्रष्टाचार नियन्त्रणका लागि देशव्यापी कर मैत्री यात्रा अन्तर्गत यहाँ कार्यक्रम गरिएको हो ।
हास्य व्यङयको माध्ययमबाट भ्रष्टचारको कडा आलोचक खबरदारी बनेर जनमानसमा लोकप्रिय बनेको संस्था सिस्नुपानी नेपालको तर्फवाट मनोज गजुरेल, लक्ष्मण गाम्नागे, अर्जुन पराजुली, धीरेन्द्र प्रेमर्षि, टंक आचार्य, शिशिर योगी, सरोज घिमिरे लगायतको प्रस्तुती रहेको थियो । कलाकारहरुले निकै चोटीला, गहकिला र झस्काउने खालको शब्द प्रस्तुत गरेका थिए ।
प्रहसन, गित, कविता, पुराणवाचन, जोगिको फ्रि लगाएतका माध्यमबाट कर तिर्न र करको सहि सदुपयोग गर्न सन्देश प्रवाह गरिएको थियो । कार्यक्रममा प्रदेश सभा सदस्य विजय सुवेदी, जिल्ला न्यायधिश हेमन्त रावल र आन्तरिक राजस्व कार्यालय भरतपुरका प्रमुख शुभप्रसाद रिजालले कर तिर्न र भ्रष्टाचार नगर्न कार्यक्रमले सन्देश प्रबाह गरेको वताउनुभयो ।
सो अवसरमा राजनैतिक दलका जिल्ला स्थित प्रमुखहरु, जनप्रतिनिधि, उद्योगवाणीज्य संघ, उद्योग संघ, च्याम्वर अफ कमर्शका प्रतिनिधि संगै कार्यालयका प्रमुखहरुको उपस्थिति रहेको थियो । सिस्नुपानी नेपालले यस अघि वनेपा, ललितपुर, विर्तामोड, विराटनगर, जनकपुर, विरगञ्ज र हेटौडामा कार्यक्रम सम्पन्न गरिसकेको छ ।
आन्तरिक राजस्व कार्यालय भरतपुरले चितवन र दाउन्ने पूर्वको नवलपरासी क्षेत्र हेर्दै आएको छ ।