चितवनः प्रदेश नम्वर तीनका मुख्यमन्त्री डोरमणी पौडेलले भ्रमण वर्ष लक्षित गर्दै नयाँ कार्यक्रम ल्याउन आवश्यक रहेको वताउनुभएको छ । वन्यजन्तुवाट हुने सम्भावित क्षति सम्वन्धि रत्ननगरमा आज आयोजीत बीमा कार्यक्रमको उद्घाटन गर्नुहुँदै उहाँले पुरानो पर्यटन व्यवसायले नयाँ सोच र नयाँ टेष्ट दिनु आवश्यक रहेको वताउनुभयो ।
उहाँले भन्नुभयो“नयाँ पहिचान दिन नसक्दा नयाँ पर्यटक आउन सकेका छैनन् । अवको दुई महिनामा कति गर्न सकीन्छ गर्नु आवश्यक छ ।”
कार्यक्रममा वोल्दै उहाँले मुलुकलाई चिनाउने गरि प्रदेश सरकारले काम गरिरहेको वताउनु भएको छ । अवको दुई वर्षमा सरकारले गरेको काम देखिने वताउनुभयो ।
सौराहा चोक देखि सौराहा सम्मको ६ किलोमिटर सडकलाई प्रदेश सरकारले नमुना सडक वनाउने भन्दै ठाउँ खालि गरिदिन उहाँले आग्रह गर्नुभयो । देश र विदेशवाट आएका पर्यटकहरुले सौराहा चोक पुगे पछि सौराहा आएको अनुभूति हुने गरि सडक निर्माण गरिने पौडेलको भनाई थियो ।
परम्परागत खेतिले मुलुकको विकास नहुने भन्दै उहाँले एकिकृत खेति प्रणाली थालेर खाध्यन्नको आयात घटाउनु पर्ने वताउनुभयो । बीमा कार्यक्रम गरेकोमा नगरपालिकालाई बिशेष धन्यवाद दिदै उहाँले यसलाई निरन्तरता दिनका लागि स्वामित्व स्थानीयहरुले लिनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य कृष्णप्रसाद खनाल, कञ्चन खनाल, मुख्यमन्त्रीका राजनैतिक सल्लाहाकार जगन्नाथ थपलिया, मृगकुञ्ज मध्यवर्ति सामुदायीक वनका अध्यक्ष वासु ढुङ्गाना, वाघमारा मध्यवर्ति सामुदायीक वनका अध्यक्ष जितु तामाङ् लगाएतले वोल्नुभएको थियो । रत्ननगर नगरपालिकाको वडा नम्वर ७ वोद्रनि गाउँका १ सय ४९ घरका ६ सय ६६ जनावाट बीमा सुरु गरिएको हो ।
क्रमश रत्ननगर नगरपालिका वडा नम्वर ५ देखि ११ सम्मका मध्यवर्ति क्षेत्रमा वस्ने विपन्न परिवारको बीमा गरिने नगरप्रमुख नारायण वनले जानकारी दिनुभयो । विपन्न परिवारको जीवन र जनधनको बीमा गरिएको हो ।
नगर प्रमुख वनका अनुसार वन्यजन्तु र दुर्घटना जुनकुनै कारणले जुनसुकै ठाउँमा बीमा गरेका व्यक्तिको निधन, घाईते वा अंगभंग भएमा बीमा भुक्तानी गरिने छ । मृत्यु हुँदा रु. १० लाख पाउने गरी बीमा गरिएको छ । यसैगरी बालीनाली, घरपालुवा जनावर, घरगोठको क्षति भएमा क्षतिका आधारमा बीमा भुक्तानी गरिने छ ।

नगरपालिकाले रु. आठ लाख, विश्व वन्यजन्तु कोषकोे रु. ८ लाख, मृगकुञ्ज उपभोक्ता समितिले रु. ४ लाख, बाघमारा मध्यवर्ती सामुदायिक वनले रु. ४ लाख र सम्बन्धित बीमितबाट रु. ८ लाख भुक्तानी गर्ने गरी रु. ३२ लाख बराबरको बीमा संञ्चालन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस !