चितवनः रत्ननगर नगरपालिकाले मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने विपन्न समुदायको बीमा गरेको छ । आजबाट लागू हुने गरी सात वटा वडाका विपन्न परिवारको जीवन र जनधनको बीमा गरिएको हो ।

नगरपालिकाका प्रमुख नारायण वनका अनुसार वन्यजन्तु र दुर्घटना जुनकुनै कारणले जुनसुकै ठाउँमा बीमा गरेका व्यक्तिको निधन, घाईते वा अंगभंग भएमा बीमा भुक्तानी गरिने छ । मृत्यु हुँदा रु. १० लाख पाउने गरी बीमा गरिएको हो ।

यसैगरी बालीनाली, घरपालुवा जनावर, घरगोठको क्षति भएमा क्षतिका आधारमा बीमा भुक्तानी गरिने उहाँले जानकारी दिनुभयो ।

नगरपालिकाका प्रेस सल्लाहकार होमनाथ सापकोटाका अनुसार नगरपालिकाले रु. आठ लाख, विश्व वन्यजन्तु कोषले रु. ८ लाख, मृगकुञ्ज उपभोक्ता समितिले रु. ४ लाख, बाघमारा मध्यवर्ती सामुदायिक वनले रु. ४ लाख र सम्बन्धित बीमितबाट रु. ८ लाख भुक्तानी गर्ने गरी रु. ३२ लाख बराबरको बीमा गरिएको छ ।

नगरपालिकाले वडा नं. ५ देखि ११ सम्मका मध्यवर्ती क्षेत्रका विपन्न परिवारको पहिलो चरणमा बीमा गरेको हो । एक निजी बीमा कम्पनीसँग सम्झौता भईसकेको र आजबाटनै कार्यान्वयनमा आउने सापकोटाले जानकारी दिनुभयो ।

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने स्थानीयहरुले वन्यजन्तुका कारण जनधनको क्षति व्यहोर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस !