चितवनः पूर्व प्रधानमन्त्री एवंम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यहि मंसिर १४ गते हुन लागेको उपनिर्वाचन लाई पार्टीको व्यारोमिटरका रुपमा लिएर काम गर्नुपर्ने समय आएको बताउनुभएको छ । नेकपा भरतपुर महानगर वडा कमिटीहरुको आज यहाँ आयोजित शपथ ग्रहण कार्यक्रममा बोल्दै दाहालले अहिलेको निार्वचनले पार्टीको लोकप्रियता र चाप मापनको काम गर्ने बताउनुभयोे ।
उहाँले भन्नुभयो “अहिले हुन लागेको निर्वाचनले पार्टीको स्प्रिट र एकतालाई यथार्थतामा देखाउँछ ।” यसअघि पराजित भोगेको स्थानामा पनि अब हुने उपनिर्वाचनमा पार्टीका सबै उम्मेद्वारले जित हासिल गर्ने विश्वास व्यक्त उहाँको थियो । उहाँले भन्नुभयो “पहिले नजितेको ठाउँमा अहिले जित्ने संभावना छ, त्यसका लागि हामी एकतावद्ध भएर रात दिन खट्न प¥यो ।”
कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले राष्ट्रियताका विषयमा देश एक ढिक्का भएको वताउनुभएको छ । भारतीय सिमाका विषयमा प्रधानमन्त्रीले बोलाएको बैठकमा सबैको एकमत भएको उहाँको भनाई थियो ।
दाहालले भन्नुभयो “जहाँ सम्म सिमाको विषय रहेको छ यसमा पहिलो पटक राष्ट्रिय एकता र सहमती भएको छ । यो गर्वको कुरा हो ।” प्रधानमन्त्रीले बोलाएको सर्बदलीय वैठकमा सम्पूर्ण राष्ट्र एक ढिक्का छ भन्ने कुरा देखिएको उहाँले वताउनुभयो । यसलाई आँफुले गुमेको भूमि फिर्ता लिने ऐतिहाँसीक अवसर भएको वुझेको दाहालको भनाई थियो ।
१८१६ को सुगौली सन्धी, त्यसपछिका चिठीपत्र र सुगौली सन्धीपछि छापिएका औपचारिक र वैधानिक नक्साले लिम्पियाधुरालाई नै महाकाली नदीको मुहान मानेकोले सोही अनुरुप अघि बढ्नुपर्ने उहाँले बताउनुभयो । दाहालले भन्नुभयो “सुगौली सन्धीले महाकाली नदी नै सीमा भनेको छ, सोही ऐतिहासिक तर्क, तथ्य र दस्तावेजले नेपालको भूमि कति, भारतको कति हो भन्ने कुरा प्रमाणित गरेको छ ।”
उहाँले सीमा विवादको विषय राष्ट्र र पार्टीका लागि निकै चुनौती बनेर आएको भन्दै शक्तिशाली सरकारले चुनौतीलाई पार गर्दै अघि बढ्छ भन्नुभयो ।
अर्को एक प्रसंगमा उहाँले नेकपालाई कम्जोर वनाउन प्रतिक्रियावादी र विदेशी शक्ति लागेको भन्दै कम्जोर हुन नदिईने वताउनुभयो । उहाँले भन्नुभयो “कम्युनिष्ट शक्तिलाई कम्जोर वनाउन विदेशी शक्ति लाग्ने गर्दछन् । जसको प्रहार शिर्ष नेतृत्ववाटै हुने गरेको छ ।” दाहालले भोलि वस्ने पार्टीको बैठकले एकताका बाँकी काम पुरा गर्ने जानकारी दिनुभयो । पार्टी एकताले ढिलै भए पनि पूर्णता पाएको उहाँको भनाई थियो ।
कार्यक्रममा प्रदेश नम्वर तीनका सह ईन्चार्ज काशिनाथ अधिकारी, प्रदेश अध्यक्ष नारायण दाहाल, भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल, नेकपा चितवनका अध्यक्ष यमवहादुर परियार लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा पार्टीका सबै वडा कमिटिका पदाधिकारी र सदस्यहरुलाई अध्यक्ष दाहालले शपथ ग्रहण गराउनुभएको थियो ।
सो अवसरमा एक हजार तीन सय सदस्यले शपथ लिएका थिए ।