चितवनः सामाजिक उत्तरदायित्व वहन गर्दै बृज सिमेन्ट उद्योगले निर्माणकर्मीको निःशुल्क रुपमा दुर्घटना बीमा गर्न शुरु गरेको छ । उद्योगले निर्माणमा संलग्न निर्माण व्यवसायी र मिश्रीहरुको रु.पाँच लाख बराबरको बीमा गर्न शुरु गरेको हो ।

बृज सिमेन्ट इण्डष्ट्रिज प्रा.लि.का बजार प्रबन्धक सुरेश जैसवालका अनुसार निर्माणकर्मीहरुलाई एक्सपर्टस् म्यासन क्लबमा आवद्ध गरेर बीमा सहित अन्य सुविधाहरु उपलब्ध गराउन लागेको हो । बीमासँगै बृज सिमेन्टले अन्य विभिन्न सुविधाहरु समेत उपलब्ध गराउन लागेको जैसवालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “मुख्य रुपमा हामी निर्माणकर्मीहरुको बीमा गर्नेछौं, यससँगै उहाँहरुलाई विभिन्न सुविधाहरु समेत उद्योगले उपलब्ध गराएको छ ।”

पछिल्लो समय नेपाली बजारमा अग्रणी सिमेन्टको रुपमा चिनिएको बृजले देशभरका ३ हजारभन्दा बढी निर्माणकर्मीहरुको बीमा गर्ने लक्ष्य राखेको कम्पनीका महाप्रबन्धक रविरन्जन कुमारले बताउनुभयो । उहाँका अनुसार भैरहवामा बि.सं. २०५६ सालमा स्थापना भई २०५९ सालबाट नियमित उत्पादन थालेको कम्पनीले हाल दैनिक ४० हजार बोरा सिमेन्ट उत्पादन गर्दै आएको छ ।

उद्योगले निर्माणकर्मीलाई पासबुक उपलब्ध गराएर कात्तिक १ गतेबाट बीमा कार्यक्रम अघि बढाएको छ । यस कार्यक्रमले निर्माणकर्मीहरुलाई सुरक्षा दिने र आकर्षण बढाउने विश्वास गरिएको उत्सव हार्डवेयरका सञ्चालक शिरिस पन्तले बताउनुभयो ।

यसै क्रममा चितवनमा निर्माण क्षेत्रमा क्रियाशील निर्माणकर्मीहरुका बीचमा औपचारिक रुपमा कार्यक्रम शुभारम्भ गरिएको छ । महाप्रबन्धक रविरन्जन कुमारको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेल, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधान, निर्माण व्यवसायी संघ चितवनका अध्यक्ष उमानन्द कँडेल, उद्योग संघ चितवनका उपाध्यक्ष त्रिलोचन कँडेल, संघका निवर्तमान अध्यक्ष भीमबहादुर पाण्डे, उद्योगका बजार प्रबन्धक सुरेश जैसवाल, ठेकेदार व्यवसायी संघ चितवनका अध्यक्ष मदन पासवान, कम्पनीका एरिया सेल्स म्यानेजर लक्ष्मीप्रसाद गुप्ता, रञ्जित देवलगायतले बोल्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !