चितवनः चितवन राष्ट्रिय निकुञ्जले वर्षात पछि सुरु गरेको खानतलासी अभियानका क्रममा एउटा गैंडा मृत भेटिएको छ । बर्दा सामुदायीक वन अन्तर्गतको नारायणी नदीको भङ्गालोमा गैंडाको अस्तिपञ्जर भेटिएको हो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीका अनुसार वर्षातका कारण निगरानी पुर्याउन कठिन भएका स्थानमा खानतलासी अभियान तिव्र पारीएको छ । सोही क्रममा खानतलासी गर्दा असोज २९ गते गैंडाको अस्तिपञ्जर भेटिएको हो । उहाँका अनुसार गैंडाका खाग, खुर लगाएतका अंगहरु सुरक्षित रहेका छन् । खाग ठूलो भएकाले भाले गैंडा भएको अनुमान गरिएको छ ।
नयाँ आर्थिक वर्ष सुरु भए यता कालगतिका कारण मृत गैंडा भेटिएको यो तेस्रो हो । वर्षातको समयमा वाटो अवरुद्ध हुने भएकाले निकुञ्जको पहुच सवै ठाउँमा पुग्न कठिन हुन्छ । वर्षात सकिए संगै वाटो वनाउँदै निकुञ्जले सम्वेदनशिल क्षेत्रहरुमा गस्ति गर्ने गर्दछ । रुपाखेतीले अहिले निकुञ्जका ठाउँठाउँमा खानतलासी कार्यलाई तिव्रता दिईएको जानकारी दिनुभयो ।
पुरै निकुञ्जलाई खानतलासी गर्ने तयारी निकुञ्ज प्रशासनको रहेको छ । निकुञ्जमा नेपाली सेना, निकुञ्जका कर्मचारी र उपभोक्ताका विभिन्न समितिहरु मार्फत सुरक्षा दिने गरिएको छ । यस निकुञ्ज दुर्लभ एक सिंगे गैंडा, पाटेवाघ लगाएतका लागि प्रख्यात रहेको छ । यसै आर्थिक वर्षको चैतको पहिलो साता गैंडा गणना समेत गरिदैं छ ।

प्रतिक्रिया दिनुहोस !