चितवनः केहि समय अघि गरिमा बर्णशंकर जातको धानवाट समस्या खेपेका चितवनका कृषकहरु अहिले फौजी किराको संक्रमणवाट थप संकट वेहोर्न वाध्य भएका छन् । विगत दुई साता देखि पूर्वी चितवनका कृषक आत्तिएका छन् ।
निर्धारीत समय भन्दा एक महिना ढिला गरी धान पाक्ने भए पछि अव लगाउने तयारी गरिएका वाली प्रभावित भएका छन् । थन्काउने बेला भएको धानमा फौजी किराले नष्ट गरेपछि यहाँका कृषक चिन्तित वनेका छन् । जिल्लाको राप्ती, खैरहनी र कालिका नगरपालिकामा लगाईएको धानमा फौजी किराले क्षती पु¥याएको छ ।
कृषि ज्ञानकेन्द्र भरतपुरका बाली संरक्षण अधिकृत पूर्णिमा क्षेत्रीका अनुसार त्यस क्षेत्रमा लगाईएको धानमा फौजी किरा देखा परेको हो । वाला पसाएको देखि काटेर सुकाएको धान सम्ममा किराले नष्ट गरेको छ । कतिपय स्थानमा ८० प्रतिशत सम्म धानको वाला किराले काटेको क्षेत्रीले जानकारी दिनुभयो ।
दुई महिना अघि केहि स्थानमा फौजी किरा देखिए पनि तत्काल सिफारीश गरिएका विषादीले नियन्त्रणमा आएको भए पनि पुनः झण्डै दुई साता यता समस्या देखिएको क्षेत्रीको भनाई छ । फौजी किरा दिनभर गाँज, झार, धाँजा फाँटेको खेतमा लुक्ने भए पनि राती वाहिर निस्किएर धानको वाला काट्ने गरेको उहाँले जानकारी दिनुभयो ।
फौजी किराले ती स्थानहरुमा के कति क्षेत्रफलमा असर पु¥यायो भन्ने वारेमा वास्तविक तथ्याङ्क आई नसके पनि प्रारम्भिक तथ्याङ्क अनुसार झण्डैं पाँच सय हेक्टर प्रभावित भएको केन्द्रले जनाएको छ । क्षेत्रीका अनुसार एउटा पोथि फौजी किराले एकै पटकमा पाँच सय देखि एक हजार फुल पार्ने गर्दछ । पाँच दिन भित्र फुलवाट वच्चा निस्कने हुँदा छिटो फैलने गर्दछ । यी किराको जीवन चक्र तीस दिनको हुने जनाईएको छ ।
केन्द्रका प्रमुख राजन ढकालका अनुसार समस्याको वारेमा जानकारी भए संगै कार्यालयका प्राबिधिकहरु प्रभाबित क्षेत्रमा पुगेर आवश्यक जानकारी लिने र विषादी सिफारीश गर्ने काम भईरहेको छ । ढकालले पाकेको धानलाई सके सम्म छिटो थन्काउनु पर्ने वताउनुभयो ।
जिल्लामा गरिमा, गोरखनाथ, युएस ३१२ जातका आयातीत वर्णशंकर र स्थानीय उन्नत जातका सावित्री, रामधान, सावा मन्सुली धान बढी क्षेत्रफलमा कृषकले लगाउने गरेका छन । गत वर्ष वर्षे धान एक लाख १९ हजार ७०० मेट्रिकटन र चैते धान २६ हजार मेट्रिकटन उत्पादन भएको केन्द्रले जनाएको छ । यस वर्ष पाँच हजार हेक्टरमा चैते धान लगाइएको थियो भने वर्षे धान २८ हजार ५०० हेक्टरमा लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस !