
चितवनः आन्दोलनरत पक्षसँग भएको सहमति कार्यान्वयन नगरेको भन्दै विद्यार्थी तथा अभिभावकहरुले चितवन मेडीकल कलेजलाई फेरी आन्दोलन गर्ने चेतावनी दिएका छन् । कलेजले सहमति अनुसारको कुनै पनि काम नगरेको भन्दै विद्यार्थी अभिभावकले फेरि आन्दोलनको चेतावनी दिएका हुन । सहमति अनुसार मेडिकल कलेजले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्कको भर्पाइ र प्रतिवेदन असोज १० गतेभित्र दिनु पर्दथ्यो । तर अस्पतालले मिति कटीसक्दा पनि सो काम नगरेपछि आन्दोलनको चेतावनी दिईएको हो ।
मिति कटे पनि भर्पाइ नपाएको भन्दै सोमबार बिहान ११ बजेभित्र भर्पाइ नदिए आन्दोलन गर्ने विद्यार्थी र अभिभावक समितिको अल्टीमेटम दिएको हो । चिकित्सा शिक्षा संघर्ष समिति र अभिभावक संघर्ष समितिले आइतबार संयुक्त विज्ञप्ती जारि गर्दै यस्तो चेतावनी दिएको हो ।
चितवन मेडिकल कलेजका शिक्षण विभाग तर्फका प्रसाशक अरूण कोइरालाले काम सक्न समय लागेको बताउनुभएको छ । ’काम गर्छाैं । केही समय लाग्ला । हामी काम सक्छौं । प्रतिवेदन पनि दिन्छौं,’ प्रसाशक कोइरालाले भन्नुभयोे ।
चितवन मेडिकल कलेजले एमबीबीएससहितका विद्यार्थीबाट सरकारले तोकेकोभन्दा पाँचदेखि २० लाख रूपैयाँसम्म बढी शुल्क लिएको भन्दै विद्यार्थीले आन्दोलन गरेका थिए । भदौ १५ देखि विद्यार्थीहरु आन्दोलन गर्दै सडकमा आएका थिए ।
विद्यार्थी, अभिभावक र कलेज प्रतिनिधिबीच भदौं २६ गते जिल्ला प्रशासन कार्यालयमा बार्ता भएको थियो । जसमा कात्तिक १८ सम्म बढी लिएको शुल्क फिर्ता गर्ने र असोज १० भित्र बढी लिएको शुल्क बारे प्रतिवेदन तयार गर्ने र भर्पाइ पनि दिने उल्लेख छ । कलेजले सरकारले तोकेको भन्दा बढी शुल्क लिए पनि कुनै पनि खालको विल भर्पाइ नदिएको विद्यार्थी अभिभावकले बताउने गरेका छन् ।