चितवनः चाड पर्व नजिकीदै गर्दा देशको राजधानीवाट वाहिरीने मुख्य सडकको विजोगका कारण सर्वसाधारण जनताले सास्ती पाएको कुरा कुनै नौलो कुरा होईन । तर हरेक वर्ष समस्या हुँदा पनि समस्याको समाधान नखोज्दा यात्रुहरुले मार खेप्नु परेको हो ।
अहिले काठमाडौंवाट वाहिरीने यात्रुको चाप वढे संगै नौवीसे–नागढुङ्गा सडकका कारण यात्रुहरु दशैंमा समेत सहज रुपले गन्तव्यमा पुग्न सकेका छैनन् । जसका कारण अहिले यात्रुहरुले घण्टौ सम्म सडकमा समय विताउनु पर्ने वाध्यता रहेको छ ।
त्रिभूवन राजपथ अन्तर्गत नौवीसे–नागढुङ्गा सडक खण्ड मर्मत सम्भारमा निकै कठिनाई हुँदै आएको छ । सो सडक खण्डको नौवीसे–पिप्लामोड खण्डको १० किलोमिटर डिभिजन सडक कार्यालय भरतपुर र पिप्लामोड–नागढुङ्गा सडक खण्डको २ किलोमिटर डिभिजन सडक कार्यालय काठमाडौले हेर्ने गर्दछ ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारी सो सडक खण्ड मर्मत सम्भार गर्न निकै कठिन हुने गरेको वताउनु हुन्छ । सडक मर्मत नगर्दा पनि नहुने र गर्दा पनि जस नपाईने गुनासो उहाँको छ । १० मिनेट सडक रोक्दा तीन किलोमिटर सम्म सडक जाम हुने गरेको अधिकारी वताउनुहुन्छ । सो क्षेत्रमा ६ देखि ७ मिटर मात्र सडक चौडा रहेको छ । सोहि सडक हुँदै दैनिक १४ हजार हाराहारी सवारी साधन राजधानी प्रवेश र बाहिरीने गर्दछन् ।
सो खण्डमा मर्मत सम्भारका लागि गतवर्ष बोलपत्र आव्हान गरिए पनि कसैले पनि बोलपत्र समावेश गरेनन् । यस वर्ष पनि पहिलो बोलपत्र कसैको पनि नपरेको अधिकारी वताउनु हुन्छ । दोस्रो बोलपत्रको तयारी भईरहेको छ । काम गर्न नसक्ने भए पछि ठेकेदार कम्पनीहरुले मुग्लिन देखि पिप्लामोड सम्मनै मर्मतका लागि बोलपत्र समावेश नगर्ने गरेको उहाँको भनाई छ ।
यस वर्षको दशैं अघि मालवाहक सवारीका कारण धसिएको क्षेत्र मर्मत गर्न थालेको भए पनि काम गर्न नसकिएको सो क्षेत्र हेर्दै आउनु भएका ईन्जिनियर हरि कुमार ठकुरी बताउनु हुन्छ । साउन, भदौ महिनाका अधिकांश समय पानी परेका कारण असोजको पहिलो साता ती खाल्डा पुर्न सुरु गरिएको भए पनि सवारी जामका कारण काम सक्न नसकीएको ठकुरी बताउनुहुन्छ ।
असोज ५, ६ र ७ गते दैनिक एक घण्टा मात्रै एक तर्फि सवारी रोकेर खाल्डा परेका ठाउँमा कालोपत्रे गरिएकोमा सवारी चाप बढेपछि रोकीएको छ । प्रमुख अधिकारीले भन्नुभयो “असोज ७ गते वेलुकावाट हामीले सवारी रोकेर काम गरेका छैनौ । सवारी चापकै कारण सडकमा समस्या देखिएको हो ।” रातको समयमा पनि सवारी चापकै कारण काम गर्न सकीएको छैन । सो सडक खण्डको चितवनले हेर्ने क्षेत्रको ८० प्रतिशत मर्मत सम्भारको काम सकिएको उहाँको भनाई छ । गणेश मन्दीर आसपासको क्षेत्र मात्र वाँकी रहेको छ ।
दशैंको नवमी र टिकाका दिन सवारी चाप घट्ने भएकाले काम गर्ने मानिस भेटिएमा सोहि दिन केहि वेर एक तर्फि सवारी रोकेर काम गर्ने तयारी सडक कार्यालयले गरेको छ । ठेक्का कसैको पनि नपरे पछि सोहि सडक खण्डमा रणनैतिक सडक मर्मत अन्तर्गत भित्तामा काम गर्दै आएको जिएमआर कन्ट्रक्सनको सहयोग लिएर मर्मतको काम भईरहेको छ । सडक नरोकीकन खाल्डा परेका ठाउँमा भर्ने काम भने अहिले पनि भईरहेको छ ।
दशैंका वेला सडक नरोकीयोस भन्नका लागि भरतपुर, नौवीसे, गल्छि, गजुरी र फिस्लिङ्मा लोडर तयारी अवस्थामा राखिएको छ । भरतपुर र गल्छिमा पहिरो पन्छाउने व्याक हु समेत राखिएको कार्यालयले जनाएको छ । सो सडक खण्डमा ट्राफिक प्रहरीले पनि लोडर र क्रेन तयारी अवस्थामा राखेको छ । यहि सडक खण्ड मर्मतका लागि सितापाईला धार्के सडक संञ्चालन गर्नुपर्ने विज्ञ ईन्जिनियरहरु वताउँछन् । अन्यथा काम गर्न निकै कठिन हुने देखिन्छ ।
सडकका कारण मात्र नभएर सवारीको उच्च चाप, ठूला साना सवारी एकै साथ गुड्ने, दशैंका वेला क्षमता भन्दा बढि सामान वोकेर जाँदा उकालोमा विग्रने, चालकले जथाभावि उछिन्ने जस्ता कारण सवारी आवागमनमा समस्या भएको देखिन्छ । प्रमुख अधिकारी काम गर्दा समेत जस नपाउँने हुँदा आँफुहरु खिन्न हुने गरेको बताउनुहुन्छ । उहाँले दुखेसो गर्नुभयो “एकोहोरो गालि खानु परेको पिडा छ । आज तपाईको मिडीयामा यती दुःख वेसाउन पाईयो ।”
सवै दोश सडकलाई थुपार्ने र यथार्थ परिस्थिति कसैले नवुझेका कारण काम गर्न कठिन भएको ई. ठकुरीले गुनासो गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस !