चितवनः जिल्लामा लगाईएको आयातीत गरिमा जातको वर्णशंकर धानमा बाला लाग्ने प्राविधिकहरुले जनाएका छन् । बिउ खरिद गर्दा भनिएको समयमा धानमा बाला नलागेपछि कृषकहरुले सरोकारवालाहरुको ध्यानाकर्षण गराएका थिए ।
यस संगै राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हर्दिनाथका धान संयोजक बरिष्ठ वैज्ञानीक डा. रामवरण यादवको नेतृत्वको प्राविधिक समुह जिल्ला आएको थियो । सो समुहले जिल्लाका विभिन्न स्थानमा कृषकको खेतमा गएर धानको निरिक्षण गरेको थियो । यादवका अनुसार धान बाला वन्ने अवस्थामा रहेको छ । उहाँले भन्नुभयो “धानको बाला बन्ने अवस्था प्रिमोडीया चरण सुरु भएको छ ।”
२० देखि २५ दिनमा बाला देख्न सकीने उहाँले बताउनुभयो । धान पाक्न अझै दुईमहिना लाग्ने यादवको भनाई छ । वर्णशंकर गरिमा जात एक सय ३५ दिनमा पाक्ने भए पनि अहिलेको अवस्था हेर्दा धान पाक्न १ सय ६० दिन हाराहारी लाग्ने उहाँले वताउनु भयो । यादवले यो धान घोल खेतमा लगाउनु पर्ने भन्दै पानी लगाउन र किरा लाग्न दिनवाट रोक्न सकेमा उत्पादन नघट्ने उहाँको भनाई छ । यध्यपि धेरै धान सुख्खा ठाउँमा देखिएको उहाँले वताउनु भयो ।
तापक्रम घट्दै गएको भए पनि दिनमा २० डिग्रि भन्दा कम नभएमा कुनै समस्या नहुने उहाँको भनाई छ । प्राविधिक टोलिले एक÷दुई दिनमा कृषि सचिवलाई प्रतिवेदन वुझाउने उहाँले जानकारी दिनुभयो ।
यसैबिच सो धानको नेपालमा दर्ता हुँदा ल्याईएको बिउ र पछि विक्रि गरिएको बिउ एकै हो वा होईन भन्ने विषयमा प्राविधिक परिक्षण (डिएनए फिङ्गर प्रिन्टीङ्)का लागि बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन पठाएको कृषि ज्ञान केन्द्रले जनाएको छ । धानको बिउ नेपालमा आयात गर्ने कम्पनी सनराईज एग्रिकल्चर रिसर्च सेन्टर दाङ्का प्रमुख देवानजंग चौधरीलाई पनि जिल्लामा बोलाईएको थियो । ज्ञान केन्द्रका प्रमुख राजन ढकालका अनुसार जिल्ला प्रशासन कार्यालयमा छलफल पछि चौधरी बोलाएको समयमा आउने गरि गएका छन् । धान उत्पादन गर्ने भारतिय कम्पनीका प्रतिनिधिहरु पनि आउने जनाईएको छ ।
ज्ञान केन्द्रका प्रमुख ढकालका अनुसार ईच्छाकामना गाउँपालिका बाहेक जिल्ला भरमा सो धानमा बाला लाग्न नसके पछि बैज्ञानीकहरु सहितको प्राविधिक टोलिले यहाँको धानको निरिक्षण गरेको हो । जिल्लामा करिव १ हजार ३ सय बिगाहामा यो धान लगाईएको अनुमान छ । जसवाट पाँच हजार हाराहारी कृषक प्रभावित भएका छन् ।
गरिमा जातको यो धान २०७२ सालमा सुचिकृत भएको हो । गरिमा भारतीय उत्पादन हो । यसको जातीय गुण अनुसार ९० देखि ९५ दिन भित्र ५० प्रतिशत फुल खेलि सक्नुपर्छ । तर त्यसो हुन नसके पछि कृषक अन्योलमा परेका छन् ।
जिल्लामा गरिमा, गोरखनाथ, यूएस ३१२ जातका आयातीत वर्णशंकर र स्थानीय उन्नत जातका सावित्री, रामधान, सावामन्सुली धान वढि क्षेत्रफलमा कृषकले लगाउने गरेका छन् ।
यसै विच पूर्वी चितवनका किसानहरुले प्रदेश नम्वर तीनका मुख्य मन्त्री डोरमणी पौडेललाई धानमा देखिएको समस्याका विषयमा जानकारी गरएका छन् । कृषकहरुले मन्त्री पौडेल यहाँ आएको अवसरमा धान नपसाउने समस्या देखिएको भन्दै यस विषयमा छानबिन गर्न माग गरेका हुन ।