चितवनः जिल्ला प्रहरी कार्यालय चितवनले दुर्लभ वन्यजन्तु बाघको छाला सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वुटवल उपमहानगरपालिका वडा नम्वर ७ ईट्टाभट्टी घर भएका ४३ वर्षीय दिपक भनिने चिरञ्जिवी सेन ठकुरी, पाल्पाको निस्डी गाउँपालिका वडा नम्वर २ सहलकोट निवासी ३३ वर्षीय चुम वहादुर राना र वाग्लुङ् जिल्ला ढोरपाटन नगरपालिका वडा नम्वर ९ निवासी २६ वर्षीय हिम साङ्वो गौचन रहेका छन् ।
कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक एकनारायण कोईरालाका अनुसार उनीहरुलाई मंगलवार वेलुका ७ वजे भरतपुर महानगरपालिका वडा नम्वर १ पुलचोक नजिकवाट पक्राउ गरिएको हो । बिशेष सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको उहाँले जानकारी दिनु भयो । वाघको छालाको मोलमोलाई गरीरहेको समयमा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुको साथवाट बाघको दाँत सहितको छाला ३ थान र ना २४ प २५०९ नम्वरको पल्सर मोटरसाईकल वरामद गरिएको छ ।
उनीहरुले उक्त छाला बाग्लुङ ढोरपाटन नगरपालिका वडा नम्वर ९ बोबाङ शेराबाङबाट बेचबिखनको लागि ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । बरामद उक्त बाघको छाला र पक्राउ परेकाहरुलाई आवश्यक कानूनी कारवाही तथा अनुसन्धानको लागि जिल्ला डिभिजन वन कार्यालय चितवनमा बुझाइएको उहाँले जानकारी दिनुभयो ।
संकटापन्न र लोपोन्मुख बन्यजन्तुको आखेटोपहार ओसारपसार, बिक्री बितरण वा कुनैपनि किसिमको निकासी पैठारी कसूरमा राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन २०२९ र संकटापन्न बन्यजन्तु तथा बनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन २०७३ अनुसार कारवाही हुने छ । यस अन्तर्गत रु पाँच लाख देखि दश लाख सम्म जरिवाना वा पाँच वर्षदेखि पन्ध्र वर्ष सम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको कोईरालाले जानकारी दिनु भयो ।