चितवनः रत्ननगर नगरपालिका वडा नम्वर १३ का केदार वजगाई वारि तिर हेरेर टोलाउँदै हुनुहुन्थ्यो । उहाँले वारिमा लगाएको धान नपसाए संगै उहाँ वारीमा जाने र आउने अनि खुई खुई गर्ने मात्रै काम आज भोलि नियमीत वनेको छ ।
उहाँले पाँच कठ्ठामा लगाउनु भएको धान अहिले पसाएको छैन । जसका कारण उहाँ यस पटक धान खरिद गरेर राख्ने तयारीमा हुनुहुन्छ । उहाँको पाँच जनाको परिवारलाई सो खेतमा लगाईएको धानले प्रयाप्त हुने गरेको थियो । अहिले केहि धेरै फलाउँ भन्ने उदेश्यले गरिमा धान लगाएको वताउँदै उहाँले भन्नुभयो “अघिल्ला वर्षहरुमा धान किन्नु परेको थिएन यस वर्ष भने नकिनि नहुने भयो ।”
जिल्लामा लगाईएको आयातीत हाईव्रिड गरिमा जातको धान नपसाए पछि कृषक चिन्तित वनेका छन् । सो धानको बालाको सुरुवाती चरणनै हुन सकेको छैन ।
रत्ननगर नगरपालिका वडा नम्वर १० का कृषक ओम प्रसाद रेग्मीले आफ्नो वारिमा लगाएको गरिमा जातको पाँच कठ्ठा धानको गाँज ठूलो भएको तर पसाउन नसकेको वताउनु भयो । स्थानीय साझा एग्रोभेटवाट प्रतिकिलो रु ३ सय ५० का दरले किनेर लगेको विउको धान नपसाए पछि आज कृषि ज्ञान केन्द्रमा समस्याका वारेमा अवगत गराएको उहाँले वताउनु भयो । तीन वर्ष अघि पनि सोही जातको धान लगाउँदा उत्पादन राम्रो भए पछि पुनः यस वर्ष पनि लगाएको उहाँको भनाई छ ।
रत्ननगर नगरपालिका वडा नम्वर ३ का कृषक जयराम पराजुलीले ज्ञान केन्द्रमा क्षतीपूर्ती माग गर्दै निवेदन दर्ता गराउनु भएको छ । उहाँले आफ्नो १७ कठ्ठा १० धुर जग्गामा लगाएको धानमा समस्या देखिएको वताउनु भयो । गरिमा जातको धान गएको जेठ २ गते विउ राखेर असार ३ गते रोपेकोमा पसाउदै नपसाएको दुखेसो उहाँले गर्नुभयो । जिल्लाका कृषकहरुले धानको विउ किनेका एग्रोभेटहरुमा भेला भएर दवाव दिने काम गरिरहेका छन् ।
ज्ञान केन्द्रका प्रमुख राजन ढकालले ईच्छाकामना गाउँपालिका वाहेक जिल्ला भरमा सो धानको वालाको सुरुवाती चरणनै हुन नसकेको गुनासो आएको वताउनु भयो । विगत केहि दिन यता देखि दैनिक जसो कृषकहरुले गुनासो गर्ने गरेको भन्दै उहाँले प्रत्यक्ष रुपमा आँफुहरुले हेर्दा समेत त्यस्तो देखिएको वताउनु भयो ।
धानको गाँज ठूलो भएको भए पनि प्रजनन्मा समस्या देखिएको उहाँले जानकारी दिनु भयो । प्रारम्भिक चरणमा लिईएको जानकारी अनुसार सो जातको विउँ विक्रि गर्ने यहाँको डिलरले १३ हजार ४ सय किलो विक्रि गरेको पाईएको छ । नेपालमा सो जातको विउ भित्र्याउने आधिकारीक कम्पनि सनराईज एग्रिकल्चर रिसर्च सेन्टर दाङ् हो । सो कम्पनिले गत वर्ष ४० मेट्रिकटन यो जातको धानको ईजाजत लिएको उहाँले जानकारी दिनु भयो ।
वास्तविक तथ्याङ्क आई नसके पनि करिव १ हजार तीन सय विगाहमा गरिमा धान लगाईएको अनुमान छ । जसवाट पाँचहजार हाराहारी कृषक प्रत्यक्ष प्रभावित भएको अनुमान गरिएको उहाँले वताउनु भयो । यस विषयमा माथिल्लो निकायमा जानकारी गराई सकेको उहाँको भनाई छ ।
छिट्टै प्राविधिक कार्यदल वनाएर स्थलगत निरिक्षण गरि प्रतिवेदन तयार गरिने ढकालले जानकारी दिनु भयो । कार्यालयका वालि विकास अधिकृत माधव पौडेलका अनुसार यो २०७२ सालमा सुचिकृत जात हो । गरिमा भारतीय उत्पादन हो । यसको जातीय गुण अनुसार ९० देखि ९५ दिन भित्र ५० प्रतिशत फुल खेलि सक्नुपर्छ । तर त्यसो हुन नसकेको उहाँले जानकारी दिनुभयो । सो विउ नेपालमा आयात गर्ने सेन्टरका प्रतिनिधि अनुज कुमार चौधरीका अनुसार अनुमति धेरै लिईएको भए पनि नेपालमा २५ टन आएको र त्यस मध्ये केहि फिर्ता भएको थियो ।
चितवन, नवलपरासीमा वढि खपत भएको भन्दै उहाँले वाँकी वाँके र दाङ्मा विक्रि गरेको वताउनु भयो । सवै ठाउँमा यहि समस्या देखिएको उहाँको भनाई छ । उत्पादन कम्पनीलाई यस विषयमा जानकारी गराई सकीएको चौधरीले वताउनु भयो ।
जिल्लामा गरिमा, गोरखनाथ, यूएस ३१२ जातका आयातीत हाईव्रिड र स्थानीय उन्नत जातका सावित्री, रामधान, सावामन्सुली धान वढि क्षेत्रफलमा कृषकले लगाउने गरेको वालि विकास अधिकृत पौडेलले जानकारी दिनु भयो । गत वर्ष वर्षेधान १ लाख १९ हजार ७ सय मेट्रीकटन र चैते धान २६ हजार मेट्रीकटन उत्पादन भएको कार्यालयले जनाएको छ । यस वर्ष ५ हजार हेक्टरमा चैते धान लगाईएको थियो भने वर्षेधान २८ हजार ५ सय हेक्टरमा लगाईएको छ ।

प्रतिक्रिया दिनुहोस !