चितवनः आर्थिक मसान्तको समयमा वर्षात हुने र निर्माणका काम कम्जोर हुने भए पछि यहाँको कालिका नगरपालिकाले चैत मसान्तमा काम सक्ने गरि योजना अघि वढाएको छ । आर्थिक मसान्त चैतलाई मानेर निर्माणका कामलाई गति दिन लागिएको हो ।
नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठका अनुसार समय छँदैछ भन्दै कामलाई असार मसान्त सम्म पुर्याउने परिपाटी अन्त्य गर्दै चालु आर्थिक वर्षवाट चैतलाई आर्थिक मसान्त मानेर काम गर्न थालिएको हो । यहि असोज २ गते कार्यपालिकाको वैठक वसेर असोज मसान्त भित्र उपभोक्ता समिति निर्माण गरि काम अघि वढाउन लागिएको हो । गत वर्षहरुमा वैशाख सम्म उपभोक्ता समिति गठन गर्ने गरिन्थ्यो ।
वडा कार्यालय र नगरपालिका कार्यालय भवनको वोलपत्र आव्हान भई काम अघि वढिसकेको भन्दै उहाँले वहुवर्षिय वाहेकका सवै योजना चैतमा सक्ने गरि काम अघि वढ्ने वताउनु भयो । आर्थिक वर्षको मसान्त असारमा भएको र सो समयमा वर्षात हुने भएकाले धेरै योजना हतारमा सक्ने गर्दा काम कम्जोर हुने गरेको छ । सवै वडा कार्यालयहरुलाई चैत सम्ममा काम सक्ने गरि योजना वनाउन निर्देशन दिईएको उहाँले वताउनु भयो ।
कुनै विशेष कारण चैतमा काम नसकिएमा वैशाख र जेठमा सुख्खा हुने भएकाले ती योजनालाई प्राथमिकता दिएर काम गर्न सकीने श्रेष्ठको भनाई छ । कालिका नगरपालिकाको चालु आर्थिक वर्षको वजेट रु ७८ करोड रहेको छ ।