चितवनः नारायणगढ मुग्लिन सडक खण्डका १५ पुल निर्माणको प्रकृया सुरु भएको छ । सडक फराकिलो हुँदा समेत साँघुरा पुलका कारण यातायात आवागमनमा समस्या देखिएका नारायणगढ–मुग्लिन सडक खण्डका पुल निर्माणका लागि वोलपत्र आव्हान गरिएको छ ।
हाल ती पुलहरु छ मिटर हाराहारी फराकीलो रहेका छन् । सडक भने ९ देखि ११ मिटर फराकीलोे छ । सडक विभागका उपमहानिर्देशक एवं पुल महाशाखा प्रमुख इञ्जिनीयर दीपक भट्टराईका अनुसार एक साता अघि डिजाईन सहित निर्माणका लागि वोलपत्र आव्हान गरिएको छ । एक महिना भित्रमा प्राप्त वोलपत्रहरु मध्ये छनोट गरि ठेक्काको टुङ्गो लगाईने छ । ती पुल निर्माण सम्पन्न गर्न करिव ३ वर्ष लाग्ने अनुमान गरिएको भट्टराईले जानकारी दिनु भयो ।
वोलपत्रको टुङ्गो लागे पछि वास्तविक लागत आउने भए पनि रु. एक अर्व तीस करोड हाराहारी खर्च हुने अनुमान गरिएको छ । सुरुमा नेपाल सरकारले पुल निर्माणको भूक्तानी गर्ने छ । पछि सो रकम ऋणका रुपमा विश्ववैंकले उपलव्ध गराउने उहाँले जानकारी दिनु भयो । निर्माण गर्न अफ्ठ्यारो पर्ने तीनवटा पुल ९ मिटर फराकिलो हुने छन् भने अन्य पुल ११ मिटर फराकीलो हुने भट्टराईले वताउनु भयो ।
ठेक्का परे पछि ठेकेदार कम्पनिले पहिले पुलको नक्साङ्कन गर्ने छ । सो नक्सा विभागले अनुमोदन गरेपछि निर्माणको काम सुरु हुने छ । हाल सोहि सडक खण्डका तीन पुल निर्माण सम्पन्न भएका छन् भने एउटा पुल निर्माणाधिन अवस्थामा रहेको छ । साँघुरा र जिर्ण पुल भएकाले समय समयमा सवारी आवागमनमा अवरोध हुँदै आएको छ ।
सडकको भित्तो काटेर फराकीलो वनाए संगै यस वर्षको वर्षातमा यात्रुले दुःख पाएका छैनन् । यही सडक हुँदै दैनिक दश हजार भन्दा वढि सवारी साधन आवागमन हुने गर्दछ । राजधानी प्रवेश गर्ने र वाहिरीने प्रमुख सडकका रुपमा यस सडकलाई लिने गरिएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठ मन्त्री भए संगै पहिलो हस्ताक्षर सोहि पुल निर्माण गर्ने निर्णय पुस्तिकामा गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !