कालीगण्डकी डाइभर्सनका काममा भारतिय चलखेल

चितवनः संघिय सरकारले कालीगण्डकी नदीको पानीलाई सुरुङ्ग मार्फत तिनाउ नदीमा मिसाउने योजना भारतको रहेको आरोप लगाएका छन् । देवघाट गाउँपालिका, देवघाट क्षेत्र विकास समिति र नेपाल सन्त समाजले संयुक्त रुपमा आज यहाँ आयोजना गरेको कालीगण्डकी डाइभर्सन र प्रभाव विषयक वृहद् अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले नेपालका नदिहरुलाई एक गरि अर्को नदिमा मिसाउँदै भरत पुर्याउने दक्षिणको योजनालाई नेपाल सरकारले सफल वनाउन खोजेको वताएका थिए ।
नेपालको प्राकृतिक स्रोत र सभ्यता माथिको भारतको गिद्धेनजर अझै नहटेको भन्दै उनीहरुले सरकारको यो योजनालाई सफल हुन नदिने वताएका थिए । सरकारले योजनाको अध्ययन सुरु गर्न लागेको समयमानै खवरदारी नगरे दक्षिण तर्फको रिमोटले नचाहिदो काम गर्न सक्छ, यसलाई सफल हुन दिनु हुँदैन उनीहरुको भनाई थियो ।
देवघाट क्षेत्रका सन्त महन्त र अगुवाहरुले कालीगण्डकी नदीको पानीलाई सुरुङ् मार्फत तिनाउ नदीमा मिसाउन नदिईने चेतावनी दिएका छन् । देवघाटको धार्मिक महिमा माथि आँच पुग्ने भन्दै उनीहरुले यस कार्य रोक्नका लागि जस्तो सुकै त्याग गर्न पनि तयार रहेको वताएका छन् । सरकारको रवैयाका कारण कालीगण्डकी–तिनाउ डाइभर्सन वहुउद्धेश्यीय आयोजना सफल नहुने उनीहरुको भनाई थियो ।
कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव शान्त वहादुर श्रेष्ठले तीनाउ डाइभर्सन विकास कि विनास, नेपाल सन्त समाजका महासचिव डा. गुरुप्रसाद सुवेदीले कालीगण्डकीको महत्व र डाइभर्सनको दुस्प्रभाव, कालीगण्डकी ज्ञान विज्ञान अध्ययन प्रतिष्ठानका अध्यक्ष चैतन्य कृष्ण महाराजले कालीगण्डकीको महत्व र अध्येता डा. कुलराज चालिसेले जलवायु अनुकुलन सन्दर्भमा श्रीकृष्णकण्डकी विषयमा फरक फरक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
चारवटै कार्यपत्रमा कुनैपनि हिसावले कालीगण्डकी डाइभर्सन उपयुक्त नभएको उल्लेख गरिएको छ । सुवेदीको कार्यपत्रमा भनिएकोछ “कालीगण्डकीको धार परिवर्तन भएर देवघाट लगाएतका धार्मिक धरोहरलाई समाप्त गर्न खोजिए त्यो हाम्रै सन्ततिको भविश्यका लागि अक्षम्य अपराध गरेको ठहरिने छ ।”
कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ्ले कालीगण्डकी डाइभर्सन गर्न नदिईने वताउनु भयो । उहाँले भन्नुभयो “शिर क्षेदन भए पनि परियोजना रोक्ने छौ ।” संघिय सरकारले निर्णय फिर्ता नलिए सम्म आन्दोलन जारी रहने उहाँले वताउनु भयो । सो अवसरमा गलेश्वर आश्रमका पिठाधीश आत्मानन्द गिरी, नेपाल सन्त समाजका अध्यक्ष एवं हरिहर सन्यास आश्रमका पिठाधीश ज्ञानानन्द सरस्वती र महेश सन्यास आश्रमका पिठाधीश रमणानन्द गिरीले यो दक्षिण तिरको पर्दा पछाडीको खेल भएको भन्दै जसरी पनि रोक्नु पर्ने वताउनु भयो । यसले देवघाटको धार्मिक महिमा समाप्त पार्ने उहाँहरुको भनाई थियो ।
यसैगरी प्रतिनिधि सभा सदस्य तिलक महत, गण्डकी प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपाली, प्रदेश सभा सदस्य विजय सुवदी, पाल्पा रामपुर नगरपालिका प्रमुख रमण वहादुर थापा, घिरिङ् गाउँपालिका अध्यक्ष राम वहादुर लामा, भरतपुर महानगरपालिका प्रवक्ता अरुणपिडित भण्डारी, देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेल लगाएतले कालीगण्डकी डाइभर्सन यस क्षेत्रका लागि अभिशाप हुने भन्दै सफल हुन नदिन सवै लाग्नु पर्ने वताउनु भएको थियो ।
संघिय सरकारले विस्तृत अध्ययन गरिरहेको यस परियोजना अनुसार कालीगण्डकी नदीलाई राम्दी पुल देखि करिव १ दशमलव ५ किलोमिटर तल स्याङ्जाको मालुङ्गा र पाल्पाको पिपल डाँडाको बीचमा बाँध बाधि ९ मिटर व्यास भएको करिव ३० किलोमिटर सुरुङ्गवाट पाल्पाको दोभान आसपासमा तिनाउ नदीमा खसालेर विधुत र सिचाई गर्ने योजना रहेको छ । यसको गण्डकी प्रदेशले विरोध गर्दै आएको छ ।