चितवनः । राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग फिल्ड कार्यालय चितवनको आज एक समारोहका विच उद्घाटन गरिएको छ । कार्यालयको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले उद्घाटन गर्नु भएको हो ।
कार्यालयको उद्घाटन पछि पूर्व प्रधानमन्त्री दाहालले समेत परिचय पत्रका लागि तस्विर खिचाउने, वायोमेट्रीक गर्ने, आफ्नो विवरण कम्युटरमा दर्ता गर्ने काम गर्नु भएको थियो ।
कार्यक्रमको उद्घाटन पछि वोल्दै अध्यक्ष दाहालले शुशासन, विकास र सुरक्षा सवै दृष्ट्रिकोणले राष्ट्रिय परिचय पत्रको दिर्घकालीन रणनैतिक महत्व रहेको वताउनु भएको छ । जिल्ला प्रशासन कार्यालय परिषरमा रहेको सो कार्यालयको उद्घाटन गर्नुहुँदै उहाँले राष्ट्रिय परिचय पत्र आम नेपालीका लागि महत्वपूर्ण रहेको वताउनु भयो ।
राष्ट्रिय परिचय पत्र नहुँदा नागरिकहरुले समस्या झेल्नु परेको भन्दै उहाँले परिचय पत्र निर्माण गर्ने र वितरण गर्ने विषयमा दलहरु र सरकारका विचमा पनि छलफल हुँदै आएको वताउनु भयो । उहाँले भन्नुभयो “अन्तत आवश्यक प्रकृया पुरा गरि राष्ट्रिय परिचय पत्र वितरणको काम सुरु भएको छ ।”
ऐनका सम्वन्धमा प्रतिनिधि सभाले पास गरेर राष्ट्रिय सभामा पुगेकाले त्यहाँ वाटपनि पारित हुन्छ भन्ने कुरामा विश्वस्त रहेको उहाँको भनाई थियो ।
सो अवसरमा राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दिपक काफ्लेले परिचय पत्रमा दिईने दश अंक व्यक्तिको परिचय भएको जानकारी दिनु भयो । पाँचथरवाट सुरु भएको परिचय पत्र वितरणको कार्य दोस्रो चरणमा चितवन सहित १५ जिल्लामा लागु भएको र चालु आर्थिक वर्षमानै देश भर लागु हुने उहाँले वताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेतले असार महिनावाट परिचय पत्र निर्माणको काम सुरु भएको जानकारी दिनु भयो । अहिले यस कार्यालयमा ६ वटा क्याविनवाट काम हुने छ । यहाँ व्यवस्थित भई सके पछि जिल्लाका सवै स्थानीय तहहरुमा पनि यो कार्य गरिने छ ।