चितवनः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भटराईले हवाई भाडा दर समायोजन हुने वताउनु भएको छ । आज भरतपुरमा पत्रकारहरु संग कुराकानी गर्दै उहाँले भन्नुभयो “भाडादर पुनरावलोकन गछौं, ईन्धनको कुराले भाडादर महंगो छ । विदेशीको झनै महंगो छ । यसलाई छिट्टै पुनरावलोकन गरेर भाडादर निकाल्छौ ।” अहिलेको भाडादर महंगो भएकाले पर्यटकीय क्षत्रेहरुमा प्रभाव परेको उहाँको भनाई थियो ।
भरतपुर विमानस्थललाई काठमाडौं वाहिरको बैकल्पिक आन्तरिक विमानस्थलको रुपमा विकास गरिने वताउनु भयो । उहाँले भरतपुर विमानस्थललाई रात्रिकालीन वनाउने, धावनमार्ग थप गर्ने, ट्रमिनल भवनहरु आधुनिक र व्यवसायीक वनाउने पनि वताउनु भयो ।
नेपालभरीका विमान स्थलको स्तर वृद्धि गर्ने तयारी भएको भन्दै उहाले काठमाण्डौ उपात्यका नजिकै रहेको यो विमान स्थलको विस्तार छिटो गर्ने गरी काम अगाडि बढ्ने जानकारी दिनु भयो ।
विमान स्थलको उत्तर तर्फ रहेको नेपाली सेनाको व्यारेक र घोडा प्रजनन् क्षेत्रले केही समस्या दिएपनि त्यसलाई केही दिन भित्रै समाधानको बाटोमा लैजाने गरी अगाडि वढेको उहाँले वताउनु भयो । उहाले भन्नु भयो “अबको १० दिन भित्रमा नेपाली सेनाको प्रमुख, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, जिल्लाका सरोकारवाला बिच सयुक्त वैठक बसेर यो समस्या समाधान गर्नेछौं ।”
नेपाली सेनालाई उचित स्थानमा स्थानान्तरण गरी विमान स्थलको धावन मार्ग विस्तारको काम हुने उहाँको भनाई थियो । विमानस्थलमा ठूला जहाज ल्याउनका लागि पहिलो चरणमा विमानस्थल विस्तारलाई जोड दिइने मन्त्री भट्टराईले बताउनुभयो ।
भ्रमण वर्ष सन् २०२०मा २० लाख पर्यटन भित्र्र्याउने लक्ष्य पूरा हुने बताउँदै उहाँले विमानस्थलहरुको स्तरउन्नती गरिने बताउनुभयो । भ्रमण वर्ष सफल पार्न गर्नु पर्ने पूर्वाधार निर्माण, विदेशमा प्रचार प्रसार जस्ता काम भईरहेको उहाँले जानकारी दिनु भयो ।
अर्काे प्रसंगमा मन्त्री भट्टराईले ७० वर्षमाथिका जेष्ठ नागरिकलाई भाडादरमा ५० प्रतिशत छुट दिने विषयमा निजी विमान कम्पनीहरुले आनाकानी गर्न नहुने बताउनुभयो । उहाँले जेष्ठ नागरिकलाई सम्मान गर्नु राज्य र निजी क्षेत्र सबैको दायित्व भएकोमा जोड दिनुभयो । आफूले घोषणा गरेको विषयमा विमान कम्पनीहरुले केही टिप्पणी गरेको बताउँदै उहाँले यसलाई आँफुले स्वागत गरेको भन्दै कार्यान्वयनको चरणमा आउनेमा विश्वस्त रहेको बताउनुभयो ।
विमान कम्पनीहरुले नै सामाजिक उत्तरदायित्व अन्तर्गत यो घोषणा गर्ने अपेक्षा आफूले गरेको बताउँदै उहाँले धर्म र पापको पनि ख्याल गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “मान्छे कसैसँग नडराए पनि पाप र धर्मसँग डराउनु पर्छ । सबैसँग छलफल गरेर यो निर्णय कार्यान्वयन हुन्छ ।”
नेपाल एयरलाईन्सको सुधार गर्ने महत्वपूर्ण एजेण्डाका साथ काम अघि वढिरहेको उहाँको भनाई थियो । सो अवसरमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र भरतपुर विमानस्थल प्रमुख पवन कुमार गौतमले विमानस्थलको अवस्थाको वारेमा जानकारी गराउँदै काम अघि वढाउनु पर्नेमा जोड दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !