
चितवनः कार्यक्रम प्रस्तोता रवि लामिछाने सहितका तीन जनाको पक्राउको विरोधमा भएको प्रदर्शनका क्रममा पक्राउ परेकाहरुलाई छाडीएको छ । सो क्रममा सोमवार सम्म ४८ जना पक्राउ परेका थिए ।
पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका लामिछाने सहित तीनै जना सोमवार धरौटीमा रिहा भएका हुन । उनीहरु पक्राउ पछि रिहाईको माग गर्दै दिनहुँ जसो प्रदर्शन भएको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरिक्षक एकनारायण कोईरालाका अनुसार आज विहानवाट आफन्तको जिम्मामा उनीहरुलाई छाड्न सुरु गरिएको हो । आफन्त आएर लैजाने क्रम जारी रहेको कोईरालाले जानकारी दिनु भयो । सवैलाई छाडीने भन्दै उहाँले आफन्त आई नपुगेकाहरु मात्र हाल रहेको जानकारी दिनु भयो ।
प्रदर्शनका क्रममा भिडलाई उत्तेजित वनाउने, ढुङ्गा प्रहार गर्ने, होहल्ला गर्ने, सामाजिक संञ्जालमा गालि गलौज गरि लेख्ने लाई प्रहरीले पक्राउ गरेको थियो । यहि घटनामा केहिदिन अघि पक्राउ परेका २२ जना विरुद्ध मुद्धा दर्ता गरिएको थियो । ती समेत छुटिसकेको कोईरालाले जानकारी दिनु भयो ।
साउन ३० गते पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानका लागि कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कंडेल र स्टाफ नर्स अस्मिता भनिने रुकु कार्की पक्राउ परेपछि रिहाईको माग गर्दै प्रदर्शन भएको थियो । नियमीत जसो भएको प्रदर्शनमा प्रहरीले सम्यमता अपनाएका कारण ठूलो घटना हुन नपाएको स्थानीय प्रशासनले जनाएको छ ।
सो क्रममा प्रहरी नायव उपरिक्षक सहित विभिन्न दर्जाका २१ जना प्रहरी घाईते भएको जनाईएको छ । भागदौडका क्रममा प्रदर्शनकारीहरु तर्फ केहि घाईते भए पनि प्रहरीमा सो को जानकारी नआएको जनाईएको छ । कोईरालाले प्रदर्शनका क्रममा के कति अश्रुग्यास प्रहार भएको छ सो को तथ्याङ्क संकलन गर्नेकाम भईरहेको जानकारी दिनु भयो ।
साउन २० गते नारायणगढको कंगारु होटलमा पुडासैनीको झुण्डिएको अवस्थामा शव भेटिएको थियो । उनको मोवाईलमा मृत्यु अघिको भिडियोमा मर्नुको कारण तीन जना व्यक्ति रहेको आरोप लगाएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरि आत्महत्या दुरुत्साहन कसुरमा मुद्दा दर्ता गरेको हो । सो मुद्धाको थुनछेक वहस पछि सोमवार पक्राउ परेका तीन जना तारेखमा रिहा भएका छन् ।