चितवनः पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका रवि लामिछाने सहित तीनै जना सोमबार रिहा भएका छन् । जिल्ला अदालत चितवनले लामिछानेलाई पाँच लाख, युवराज कँडेललाई तीन लाख र अस्मिता भनिने रुकु कार्कीलाई साधारण तारेखमा रिहा गरेको हो ।
अदालतका श्रेष्तेदार रुद्रमणि गिरीका अनुसार लामिछाने र कँडेलसँग नगद, जेथा जमानत वा बिना शर्तको बैंक ग्यारेन्टी माग गरिएको छ भने कार्कीलाई साधारण तारेखमा रिहा गरिएको उहाँले जानकारी दिनुभयो । उनीहरुले सोमबार साँझ नै नगद धरौटी जम्मा गरी रिहा भएका छन् ।
जिल्ला न्यायाधिश हेमन्त रावलको ईजलासले उक्त निर्णय गरेको हो । गिरीका अनुसार लामिछाने र कँडेललाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६८ बमोजिम धरौटी माग गरिएको छ भने कार्कीलाई दफा ६९ बमोजिम साधारण तारेखमा राख्ने आदेश भएको छ ।
तत्काल प्राप्त प्रमाणको आधारमा उक्त आदेश गरिएको उहाँले बताउनुभयो । उनीहरु रिहा भए पनि साक्षी र बकपत्रहरुको आधारमा मुद्दाको फैसला हुँदा कानुन बमोजिम हुने गिरीले जानकारी दिनुभयो ।
आदेशको पुरक खण्डमा लामिछाने र कँडेलले सञ्चालन गर्दै आएको जनतासँग सिधा कुरा कार्यक्रम मुद्दासँग सम्बन्धित भएकोले मुद्दाको टुंगो नलागेसम्म यो मुद्दाको विषयवस्तुलाई समावेश गरेर कुनै कार्यक्रम गर्न नपाईने गरी आदेश भएको छ । उक्त पुरक आदेशमा भनिएको छ “अनुसन्धानमा संलग्न प्रहरी, अभियोजनकर्ता सरकारी वकिल, पीडित परिवार, मुद्दाका पक्ष, सम्बन्धित साक्षी, मौकामा बुझिएका अन्य व्यक्तिहरु, प्रमाणको रुपमा वैज्ञानिक परीक्षणमा संलग्न विशेषज्ञ चिकित्सक, अदालत र समग्र न्यायिक प्रक्रियाका बारेमा कुनै पनि विषय वस्तु संकलन गरी मुद्दाको विश्वसनीयतामा असर पु¥याउने उद्देश्यले अदालत भन्दाबाहिर कुनै पनि सार्वजनिक कार्यक्रम गर्ने, टेलिभिजन कार्यक्रम प्रसारण गर्ने, लाईभ, ट्वीटर, यूटुव, सामाजिक सञ्जाल एवं अन्य सार्वजनिक सञ्चारमाध्यममा विचार वा प्रतिक्रिया स्वदेश वा विदेशमा व्यक्त गर्न पाईने छैन ।”
त्यसैगरी लामिछाने र कँडेलको हकमा औषधिउपचारको लागि विदेश जानु परेमा यस अदालतको लिखित रुपमा पूर्व अनुमति लिएर मात्रै विदेश जान पाउने आदेश भएको छ ।
सोमबार लामिछाने र कँडेलको बयानपछि वादी र प्रतिवादीको तर्फबाट कानुन व्यवसायीहरुले बहस गर्नुभएको थियो । कार्कीको आईतबार नै बयान लिईएको थियो ।
मुलुकी अपराध संहिता अनुसार आत्महत्या दुरुत्साहनको कसुरमा उनीहरु विरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको हो । मुद्दा प्रमाणित भए पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने कानुनी व्यवस्था रहेको छ ।
साउन २० गते नारायणगढको कंगारु होटलमा पुडासैनीको झुण्डिएको अवस्थामा शव भेटिएको थियो । उनको मोवाईलमा मृत्यु अघिको भिडियोमा मर्नुको कारण तीन जना व्यक्ति रहेको आरोप लगाएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरि आत्महत्या दुरुत्साहन कसुरमा मुद्दा दर्ता गरेको हो ।
साउन २० गते नारायणगढको कंगारु होटलमा पुडासैनीको झुण्डिएको अवस्थामा शव भेटिएको थियो । उनको मोवाईलमा मृत्यु अघिको भिडियोमा मर्नुको कारण तीन जना व्यक्ति रहेको आरोप लगाएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरि आत्महत्या दुरुत्साहन कसुरमा मुद्दा दर्ता गरेको हो ।
लामिछानेको समर्थनमा आईतवार ठूलो प्रदर्शन भएपछि सोमबार स्थानीय प्रशासनले अदालत र प्रहरी कार्यालय वरपरको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरि पाँच जना भन्दा बढी हिडडुल गर्न रोक लगाएको थियो । कडा सुरक्षा व्यवस्था वावजुत विभिन्न चोकहरुमा समर्थकहरु जम्मा भएर प्रदर्शन गरेका थिए ।
प्रदर्शनकारीहरुले सोमबार चार वटा सवारीसाधन तोडफोड गरेको स्थानीय प्रशासनले जनाएको छ ।
वाईपास रोडमा चारवटा ट्रक प्रदर्शनकारीले तोडफोड गरेका हुन । सो क्रममा प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । निषेधित क्षेत्र प्रवेश गर्न प्रदर्शनकारीहरुले प्रयास गरे पनि प्रहरीले रोकेको थियो । प्रदर्शनकारीले चौविसकोठी, हाकिमचोक, दुरसञ्चार रोड, रिजालचोक लगायतका स्थानमा प्रदर्शन गरेका थिए । सो क्रममा पटक पटक प्रहरीसँग मुठभेठ भएको थियो ।
भिडलाई नियन्त्रण गर्न प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी दानबहादुर मल्ले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !