चितवनः नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कार्यत्रलम प्रस्तोता रवि लामीछाने सहितका तीन जनाको विषयमा न्यायोचित छानविन हुनु पर्ने वताउनु भएको छ । भरतपुरमा पत्रकारहरु संग कुराकानी गर्दै उहाँले भन्नुभयो “यो विषय न्यायको कठघरामा रहेको विषय हो । जसले न्याय कानुन हेर्नु पर्ने हो, त्यो हेर्नुहोला र न्यायोचित छानविन होला भन्ने हामीलाई विश्वास छ ।”
उहाँले सरकार र यहाँको न्याय प्रणाली प्रति जनतामा अविश्वास वढ्दै गएको वताउनु भयो । कार्यक्रम प्रस्तोता रवि लामिछानेको समर्थनमा उत्रिएका जनताले यसलाई प्रमाणीत गरेको उहाँको भनाई थियो । उहाँले भन्नुभयो “घोर अविश्वास सरकार प्रति रहेको छ । सरकारले जनताको विश्वास लिन सकेको छैन ।” यी कुराहरुलाई काँग्रेसले सदन र सडकवाट उठाउँदै आएको उहाँको भनाई थियो ।
फरक प्रसंगमा वोल्दै उहाँले काँग्रेसले जनताको मन जित्ने गरि काम गर्ने समय आएको वताउनु भएको छ । आज यहाँ पत्रकारहरु संग कुराकानी गर्दै उहाँले सरकार प्रति जनताको विश्वास गुम्दै गएको समयमा जनताको मन जित्नेगरि काम गर्नु पर्ने वताउनु भयो ।
पौडेलले भन्नुभयो “सरकारको विकल्पको रुपमा काँग्रेसलाई तयार गर्नु पर्छ । यसका लागि सवै एक भएर अघि वढ्नुको विकल्प छैन ।” महाधिवेशन समयमानै गर्नुपर्ने उहाँको तर्क थियो ।
पार्टी भित्र भएका कमी कमजोरीहरुलाई अन्त्य गर्दै जनतामाझ जानुको विकल्प नरहेको पौडेलले वताउनु भयो । प्रजातन्त्रमा पक्ष विपक्ष हुने भन्दै उहाँले भन्नुभयो “राजनीतिमा सवै कुरा सवैले एकैनास वोल्छ भन्ने हुँदैन पक्ष विपक्ष हुन्छ तर जनताको काम गर्ने समयमा त्यो देखिनु हुँदैन ।”

प्रतिक्रिया दिनुहोस !