
चितवनः स्वदेशमा वजार नपाए पछि कुखुरा जन्य वस्तु भारतमा निर्यात वढेको छ । उत्पादन वढे संगै खपत नहुँदा चल्ला तथा अण्डा बिक्न मुस्किल भएको व्यवसायीहरु वताउँछन् । चल्ला नविके पछि कतिपयले खाल्डो खनेर पुर्न वाध्य भएका छन् । कतिपयले अनौपचारीक रुपमा भारतिय व्यवसायीहरु संग मिलेर भाले लागेको अण्डा र चल्ला निर्यात गरेका छन् । भारतमा भन्दा यहाँ चल्लाको मुल्य सस्तो भए पछि सातामा ५ लाख हाराहारी चल्ला र एक लाख हाराहारी अण्डा भारत जाने गरेको छ ।
देशमा आत्मनिर्भर रहेको कुखुरा पालन व्यवसाय पछिल्लो समय संकटमा परेको पछि यहाँ उत्पादीत बस्तु भारतमा निर्यात हुन थालेको हो । ह्याचरीहरुले उत्पादन गरेका चल्ला र लेयर्स कुखुराको अण्डाले मुल्य नपाउनुको साथै बिक्न मुस्किल भए पछि व्यवसायीले भारतीय व्यापारीहरु संग मिली निर्यात वढाएका हुन ।
नेपाल ह्याचरी उद्योग संघका केन्द्रीय अध्यक्ष टिकाराम पोख्रेलका अनुसार लागत भन्दा निकै कम मुल्यमा चल्ला बिक्रि गर्न समेत कठिन भएको छ । नेपालमा २ सय ५३ वटा ह्याचरी छन् । ती मध्ये १४ वटा लेयर्स ह्याचरीले सातामा एक लाख ९० हजार चल्ला उत्पादन गर्छन ।
२५ वटा कोईलर (रातो व्रोईलर)ले चार लाख चल्ला उत्पादन गर्छन् । अन्य व्रोईलर ह्याचरीले ३४ लाख चल्ला उत्पादन गर्ने पोख्रेलको भनाई छ । ती चल्ला मध्ये व्रोईलरको लागत मुल्य प्रति गोटा रु ५५ पर्छ । तर वजारमा रु ३० मा बिक्न कठिन छ । रु ९५ पर्ने लेयर्स कुखुराको चल्ला रु ६० मा बिक्न मुस्किल छ भने कोईलरको चल्ला लागत मुल्य हाराहारी रु ३० मा बिक्न कठिन भएको पोख्रेलले बताउनु भयो ।
व्यवसायीहरुले भाले नलागेको अण्डा वजारमा बिक्रि समेत गर्ने गरेको वुझिएको छ । पोख्रेलका अनुसार वि.सं. २०७२ सालमा भन्दा ७८ प्रतिशत वढि व्रोईलर चल्ला, शत प्रतिशत लेयर्स चल्ला र दुई सय प्रतिशत कोईलर चल्ला वढि उत्पादन भएको छ । गतसाल भन्दा २५ प्रतिशत वढि व्रोईलर, ४० प्रतिशत वढि लेयर्स र दोव्वर कोईलर चल्ला उत्पादन भएको छ ।
असार संगै १० लाख वढि लेयर्स चल्ला उत्पादन हुँदै छ । हाल फार्महरुमा ३० लाख व्रोईलर प्यारेन्ट, एक लाख ५० हजार लेयर्स प्यारेन्ट र ५० हजार कोईलर चल्ला रहेका छन् ।
यस्तै अण्डाको उत्पादन वढेपछि माग हुन नसक्दा बिक्न कठिन भएको छ । अण्डा उत्पादक संघका केन्द्रिय अध्यक्ष त्रिलोचन कडेंलका अनुसार संघले तोकेको मुल्यमा अण्डा विक्न सकेको छैन । हाल अण्डाको लागत मुल्य रु १० पर्ने भए पनि बिक्रि मुल्य सरदर रु ७ मात्र रहेको छ । देशका बिभिन्न ठाउँमा कृषकको अण्डा बिग्रिएर गाड्नु पर्ने अबस्था छ ।
उच्च तापक्रमका कारण लामो समय भण्डारण गर्न नमिल्ने भएकाले बिक्रिका लागि कुर्दाकुर्दै धेरै अण्डा खेरा फाल्नु परेको कडेंलको भनाई छ । दैनिक ४० लाख अण्डा उत्पादन हुने गरेको छ । यो गतवर्ष भन्दा ४० प्रतिशत वढि भएको उहाँको भनाई छ । देशभर लेयर्स कुखुरा पाल्ने फार्मको संख्या ७ हजार भन्दा वढि छ । हाल संघले फाम वाट ठूलो अण्डा प्रति क्रेट रु २ सय ५० र सानो रु १ सय ८० तोकेको भए पनि सो मुल्यमा बिक्रि हुन नसकेको संघका केन्द्रिय सचिब मदन पोख्रेल वताउनु हुन्छ ।
नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्ट सरकारको नीतिका कारण व्यवसाय संकटमा पुगेको दावि गर्नु हुन्छ । हालै मात्र देशका बिभिन्न ठाउँमा वर्डफ्लु देखा पर्दा तत्काल नियन्त्रणमा लिन नसक्दा समस्या उत्पन्न भएको हो । मकवानपुरमा वर्डफ्लु देखिएको एक महिना पछि मात्र सो क्षेत्र नियन्त्रणमा लिने काम भएको भन्दै यसले ठूलो क्षती पुर्याएको विष्टको भनाई छ ।
सम्बेदनशील बिषय भएर पनि पोल्ट्री संग सम्बन्धित विषयलाई हल्का रुपमा सरकारी निकायहरुले लिदाँ दिर्घकालिन प्रभाव देखिएको बिष्ट वताउनु हुन्छ । यस क्षेत्रमा लगानि वढ्दो रहेको भन्दै उहाँले पोल्ट्री संग सम्बन्धित सबै क्षेत्रमा गरि रु १ खर्व २५ अर्ब हाराहारी लगानी पुगेको बताउनु भयो । जस मध्ये आधा वैंकिङ् लगानि रहेको बिष्ट वताउनु हुन्छ । आँफ्नो मात्र यस क्षेत्रमा रु ६ अर्ब नाघेको भन्दै उहाँले रु ४ अर्ब ५० करोड थप्दै गरेको बताउनु भयो ।
पछिल्लो समय दानाको मुल्य गत वर्षको तुलनामा २५ प्रतिशत वढे संगै कृषकले चल्ला र दाना उदारो पाउन सकेका छैनन् । रोगका कारण हच्कीएका साना किसानले व्यवसाय गर्न नगद लगानी गर्नु पर्ने भए पछि कुखुरा पाल्न छोड्ने क्रम संगै व्यवसायमा थप संकट देखा परेको छ ।