चितवन, (रासस): तत्कालिन माओवादी लडाकुको तेस्रो डिभिजन रहेको शक्तिखोरमा युद्ध संग्राहलय निर्माण गर्न विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बनाईने भएको छ । कालिका नगरपालिकाले डिपिआर निर्माण गर्न लागेको हो ।
नगरप्रमुख खुमनारायण श्रेष्ठ (गोपी) का अनुसार कालिका नगरपालिका वडा नं. ८ गैरीबारीमा संग्राहलय बनाईने छ । के कति जग्गा आवश्यक पर्छ, प्रतिवेदन आएपछि एकिन हुने उहाँले बताउनुभयो ।
पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शक्तिखोरमा युद्ध संग्राहलय बनाउनका लागि श्रेष्ठलाई आग्रह गर्नुभएको छ । श्रेष्ठले भन्नुभयो “प्रचण्डज्यूले डिपिआर गर्न भन्नुभएको छ, हामी यथाशिघ्र डिपिआर तयार गर्छाै ।” सबै प्रक्रिया सम्पन्न गरेर आउँदो आर्थिक वर्षबाट डिपिआरको काम शुरु गर्ने तयारी गरिएको छ ।
उहाँले आउँदो आर्थिक वर्षका लागि बजेट विनियोजन गरी काम अगाडि बढाउन लागिएको बताउनुभयो । विश्वका उत्कृष्ट युद्ध संग्राहलयको समेत अध्ययन गरेर डिपिआर तयार गर्ने योजना बनाईएको छ ।
सशस्त्र द्वन्द्वका समयमा प्रयोग भएका हतियार, दस्तावेजलगायतलाई सङ्कलन गरेर युद्ध संग्राहलयमा राखिने छ । १० वर्षको जनयुद्धमा प्रयोग भएका हातहतियार, दस्तावेजसहित युद्ध कसरी भएका थिए भन्ने इतिहास झल्काउने कला कुँदेर देखाउन सकिने श्रेष्ठले बताउनुभयो । युद्ध सङ्ग्रहालय आम नेपालीका लागि इतिहास र महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्नसक्ने उहाँको भनाई छ । सो क्षेत्र महत्वपूर्ण पर्यटकीय गन्तव्य सौराहा नजिक पर्छ ।
संग्राहलय बनेसँगै यहाँ आउने पर्यटकको बसाई लम्बिने र पर्यटक बढ्ने अपेक्षा गरिएको छ । तत्कालिन माओवादी नेताहरु प्रचण्ड, रामबहादुर थापा बादल लगायतको गृह जिल्ला हुनु र देशको केन्द्रविन्दुमा रहनुले युद्ध संग्राहलय महत्वपूर्ण हुने छ ।

प्रतिक्रिया दिनुहोस !