चितवन, (रासस): गिद्धको बच्चा हुर्काउने कार्यमा सफलता मिले पनि अण्डा (फुल) बाट बच्चा कोरल्ने कार्यमा भने आशातित सफलता मिल्न सकेको छैन । जसका कारण यस विषयमा स्वदेशी र विदेशी विज्ञहरुले अनुसन्धान गरिरहेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जमा प्रजनन् केन्द्र स्थापना गरी सेतो डंगर जातको गिद्धको बंश विस्तार गर्ने काम हुँदै आएको छ । निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र नेपाल पंछी संरक्षण संघले सन् २००८ बाट कसरामा प्रजनन् केन्द्र स्थापना गरी संरक्षण गर्दै आएका छन् ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार हालसम्म त्यहाँ रहेका गिद्धबाट ६८ वटा अण्डा पारेर १८ वटा बच्चा कोरलिएका छन् । बि.सं. २०७१ मा ५ वटा अण्डा पारेर एउटा बच्चा कोरलिएको थियो । २०७२ मा ७ अण्डा पारे पनि बच्चा कोरल्न सकेको थिएन । बि.सं. २०७३ मा १५ वटा अण्डाको ९ बच्चा, २०७४ मा २१ वटा अण्डाको ७ बच्चा कोरलिएकोमा २०७५ मा भने २० वटा अण्डाबाट २ वटा बच्चा मात्रै कोरलिएका थिए ।

स्थापनाको समयमा करिब तीन वर्ष लगाएर विभिन्न ठाउँबाट ६४ वटा गिद्ध ल्याई प्रजनन् केन्द्रमा राखिएको थियो । त्यही हुर्किएका गिद्ध मध्ये हालसम्म २० वटालाई प्रकृतिमा छाडिएको छ । सन् २०१७ मा सात पोथी र सन् २०१८ मा ८ बच्चा, तीन पोथी एवं दुई भाले गरी १३ वटालाई केही समय नवलपरासीको जटायु रेष्टुरेण्टमा राखेर प्रकृतिमा छाडिएको हो । सन् २०१९ मा ६ बच्चा, ४ पोथी र ३ भाले गरी १३ वटालाई प्रकृतिमा छाड्नका लागि रेष्टुरेण्टमा राखिएको छ ।

हाल प्रजनन् केन्द्रमा १९ भाले, १९ पोथी र दुई वटा बच्चा रहेका छन् ।

नेपाल पंछी संरक्षण संघका प्रमुख कार्यकारी अधिकृत इसाना थापाले यस बर्षको प्रजनन्को समस्या देखेर आफूहरु आश्चर्यमा परेको बताउनुभयो । यससँगै गम्भीर रुपमा अनुसन्धान शुरु गरिएको उहाँले बताउनुभयो । अघिल्लो वर्षको तुलनामा गत वर्ष के कस्ता कमिकमजोरी र होहल्ला (डिस्टर्व) भएका थिए त्यसको अध्ययन भईरहेको उहाँले बताउनुभयो ।

शुरुवाती वर्षहरुमा लिंग पहिचान गरी भालेपोथीको अवस्थाको बारेमा अध्ययन गरेर छुट्याएर राखिएको थियो । उहाँका अनुसार लिंग अनुसार नमिलेका गिद्धलाई प्रकृतिमा छाडिएका हुन् ।

प्रजनन् केन्द्र हेर्दै आउनु भएका राष्ट्रिय प्रकृति संरक्षण कोषका डा. विकल्प कार्कीले विदेशी विज्ञहरुसँग समेत यस विषयमा परामर्श गरिरहेको बताउनुभयो । उहाँले कसरी बच्चा कोरल्ने दर बढाउन सकिन्छ भन्ने विषयमा अध्ययन भईरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !