नारायणगढः चितवनको भरतपुर महानगरपालिका–१३ स्थित बाटुलीपोखरी जलचर पक्षी घुँगीफोर गरुड ((एसियन ओपनविल) का लागि प्रमुख प्रजनन केन्द्रको रूपमा विकसित हुँदै गएको छ । पछिल्ला वर्षहरूमा यहाँ व्यापक संख्यामा घुँगीफोरहरू आएर गुँड बनाई बच्चा हुर्काइरहेका छन् ।
बाटुलीपोखरी मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको व्यवस्थापनमा रहेको यस पोखरी वरपर हाल करिब १०४ वटा रुखहरूमा ४७८ वटा गुँडहरू बनाइएको अवलोकन गरिएको छ । समूहका अध्यक्ष कृष्णहरि प्रसाईका अनुसार केही सुक्खा रुखहरूमा १० वटा गुँडसम्म पनि देखिएको छ, जुन दृश्य निकै आकर्षक देखिन्छ ।
“घुँगीफोर गरुडहरू विशेषतः सुक्खा रुखहरूमा गुँड बनाउने गर्छन् र पानीछेउबाट घुँगी तथा साना जलचर खान खोज्ने गर्छन् । अध्यक्ष प्रसाईले भन्नुभयो, “हामीले अवलोकन गर्दा १०४ वटा रुखमध्ये केवल ३ वटामा मात्र हरियो रुखमा गुँड देखिएको छ, बाँकी सबै सुक्खा रुखमा छन् ।”
उहाँका अनुसार प्रजनन याममा घुँगीफोरहरूको गतिविधि हेर्न पक्षी अवलोकनकर्ता र संरक्षणकर्मीहरू उत्साहका साथ आउने गरेका छन् । उहाँले थप्नुभयो, “प्रजनन अवधिमा पोखरी क्षेत्रमा डुङ्गाजस्ता पर्यटकीय गतिविधिहरू बन्द गरिएको छ, ताकि चरा र गुँडहरूमा असर नहोस। ”
यस क्षेत्र पहिले “ठूलो घोल“ को नामले चिनिन्थ्यो, जहाँको पानी राप्ती नदीमा मिसिन्थ्यो । तर वि.सं. २०६५ मा गंगानगर सिंचाइ आयोजना र सामुदायिक वन उपभोक्ता समूहको सहकार्यमा ड्याम निर्माण गरी पोखरीमा रूपान्तरण गरिएको हो । अहिले यो क्षेत्र केवल सिँचाइका लागि मात्र नभई जैविक विविधताका लागि पनि महत्त्वपूर्ण बनेको छ ।
अध्यक्ष प्रसाईका अनुसार, पहिले यहाँ जाडोयाममा साइबेरियन चरा देखिन्थे, तर अहिलेका वर्षहरूमा स्थायी रूपमा बसोबास गर्ने रैथाने पक्षीहरू देखा पर्न थालेका छन् । उहाँले भन्नुभयो, “पछिल्ला ५–७ वर्षयता घुँगीफोरहरू यहाँ आउन थालेका हुन्। तिनीहरूले यहीँ गुँड बनाएर बच्चा हुर्काइरहेका छन ्।”
घुँगीफोर गरुडहरू मुख्यतः चैत्र–वैशाख महिनादेखि गुँड बनाउन सुरु गर्छन्, जेठमा अन्डा पार्छन् र भदौ महिनासम्म बच्चा हुर्काउँछन् । ठूला झुन्डमा रहने यिनले सामूहिक रूपमा गुँड बनाउने बानीले गर्दा अन्य चराहरूलाई आफ्नो उपस्थिति सहजै थाहा नहुने अध्यक्ष प्रसाइले बताउनुभयो ।
प्रसाईका अनुसार पहिले यिनीहरू २० हजारी तालमा गुँड बनाउँथे, तर त्यहाँका रुखहरू कुहिएर नष्ट भएपछि नयाँ वासस्थानको रूपमा बाटुलीपोखरीमा बस्न थालेका हुन् । “घुँगीफोरहरूले केवल सुक्खा रुखमा मात्रै गुँड बनाउने भएकाले भविष्यमा यस्ता रुखको अभाव संरक्षणका लागि चुनौती बन्न सक्छ,“ उहाँले भनाई थियो ।
हाल पक्षी अवलोकनका लागि मात्र पोखरी क्षेत्र खुल्ला गरिएको छ । प्रजनन याममा डुङ्गा सञ्चालनजस्ता गतिविधिहरू बन्द गरिएको छ। संरक्षणको प्रभावस्वरूप, सिजनमा २,३०० जना सम्म पर्यटकले बाटुलीपोखरी तालक्षेत्र अवलोकन गरेको उहाँले बताउनुभयो ।






