काठमाडौँ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले पोखरा साहसिक पर्यटनको हबका रूपमा विकसित भएको बताएकी छन् । पोखराको लेकसाइटमा अंशुभरा ग्रुपले सञ्चालनमा ल्याएको बगैँचा रिसोर्ट स्पाको आज शुभारम्भ कार्यक्रममा उनले पोखरा आफैँमा प्राकृतिक रूपमा सुन्दर सहरका रूपमा स्थापित भइसकेको उल्लेख गरिन् ।
आफू बाल्यकालमा पोखरामा आएको स्मरण गर्दै मन्त्री देउवाले त्यसबेलामा यहाँको सुन्दरताले लोभ्याएको धारणा राखिन् । पछिल्लो समयमा जलवायु परिवर्तनका असर सबै क्षेत्रमा परिरहेको उल्लेख गर्दै उनले उत्तर र दक्षिणतर्फका छिमेकमा बाढीको प्रभाव बढिरहेको समाचारहरू आएकाले हामी पनि सर्तक रहनुपर्नेमा जोड दिइन् ।
‘रिसोर्टमार्फ स्वदेशमा केही गर्नुपर्छ भन्ने सन्देशसमेत दिन खोजिएको छ । विदेशमा गरिने मेहनतले केवल पैसामात्र आर्जन हुने भए पनि यहाँ गरिने मेहनेतले स्वदेशमा योगदानसँगै इज्जत पनि प्राप्त हुन्छ,ु मन्त्री देउवाले भनिन् ।
गण्डकी प्रदेशका पूर्वमुख्यमनत्री खगराज अधिकारीले पोखरा प्रकृतिको उपहार भएको बताइन् । नेपालमा आउने पर्यटकमध्ये ६८ प्रतिशत साहसिक पर्यटनको चाहना पोखरा आउने रहेको जनाउँदै उनले यही प्रदेशबाट पृथ्वीनारायण शाहले नेपालको एकीकरण, भानुभक्तले भाषाको एकीकरण गरेको उल्लेख गरिन् ।
अंशुभरा ग्रुपका अध्यक्ष एवं गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री विन्दुकुमार थापाले पर्यटन, उद्यमशीलता र रोजगारीका क्षेत्रमा नवीनतम सोचका साथ अघि बढिरहेको बताए । अंशुभरा ग्रुपका प्रबन्ध निर्देशक सौगात थापाले स्वदेशमा केही गर्नुपर्छ भन्ने सोचका साथ बगैँचा रिर्सोट स्पा सञ्चालनमा ल्याइएको धारणा राखेका छन् ।






