कञ्चनपुर । कृष्णपुर नगरपालिका–१ दोमिल्ला, साउन २ गतेको मध्यरात । रातको करिब १ः०० बजेको थियो । मन्सरादेवी साउद छोरासँग कच्ची घरको भित्री कोठामा निदाएकी थिइन् । अचानक भित्तो हल्लियो । उहाँलाई ठूलो जनावरले पर्खालमै हिर्काएजस्तो भयो ।
छिमेकी देवकी भट्ट भन्नुहुन्छ, “अझ अचम्म त के भयो भने हात्तीले मन्सराको घरमात्र भत्कायो, वरिपरिका घरमा केही गरेन, गएको वर्ष पनि मन्सारकै खेतको धान हात्तीको बथानले खाएर सखाप पार्यो, अरुको धानमा खुट्टासमेत हालेन ।”
अहिले छिमेकीले मन्सारको भत्केको घरको भित्तो लिपपोत गरिदिएका छन् । “केही दिनअघि मनि साउदको घर हात्तीले भत्काएको थियो”, उहाँले भन्नुभयो, “हात्ती अब बस्तीका स्थायी पाहुना भएजस्ता छन्, जुनसुकै बेला पनि आइपुग्छन्, राति घरभित्र सुत्नै डर लाग्छ ।”
“सडकबत्ती छैन, सावधानीका उपाय छैनन्”, गौरी साउदले भन्नुभयो, “बत्ती भए हात्ती बस्तीमा पसेको टाढैबाट देखिन्थ्यो, अँध्यारोमा हात्ती आएको थाहा हुँदैन, जब घर भत्काउन सुरु गर्छन् तबमात्र थाहा हुन्छ, त्यसबेला ज्यान जोगाउनकै चिन्ता हुन्छ ।”
हात्तीले न खाद्यान्न छोड्छ, न घर । ऐश्वर्या सामुदायिक वनको सीमावर्ती बस्ती हात्तीको नियमित मार्ग बनेको छ । सो वनका अध्यक्ष ईश्वर बुढा भन्नुहुन्छ, “हात्तीले खानेपानीको पाइप तानेर तोडेपछि ४० परिवार पिउने पानीबाट वञ्चित भएका छन्, मानवीय सङ्कट निम्तिएको छ ।”
हात्ती आतङ्क रोक्न मेसवायर, पर्खाल वा चेतावनी प्रणालीको आवश्यकता देखिएको छ । स्थानीयलाई रातभर आगो बालेर हात्ती भगाउनुपर्ने बाध्यता छ ।






