चितवनः जिल्ला प्रहरी कार्यालय चितवनले १० जनालाई नियन्त्रणमा लिएको छ । कार्यालयका प्रमुख प्रहरी उपरिक्षक नान्तीराज गुरुङ्गका अनुसार कोरोना भाइरसको जोखिमसँग जुध्न सरकारले आज देखि लागू गरेको एकहप्ते मुलु बन्द उल्लंघन गर्ने १० जनालाई नियन्त्रणमा लिईएको हो ।
मुलुकबन्दको अवज्ञा गर्दै बिनाकामकाज घरबाट बाहिर निस्किएका ती व्यक्तिहरूलाई जिल्लाको बिभिन्न स्थानबाट नियन्त्रणमा लिईएको उहाँले जानकारी दिनुभयो । मुलुकबन्दको समयमा विनाकाम घरबाट बाहिर निस्कनेलाई पक्राउ गरिने गुरुङ्गको भनाई छ । अत्यावश्यक काम भएकाले भने त्यसबारे जानकारी गराएर मात्र वाहिर निस्कन सक्ने उहाँले बताउनुभयो ।
पक्राउ परेका सबैलाई आबश्यक कारवाहिका लागि जिल्ला प्रशासन कार्यालय पठाउने तयारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले लकडाउन उलंघन गर्नेलाई नियन्त्रण गर्ने नीतिका साथ प्रशासन अघि वढेको बताउनुभयो । उहाँले अत्याबश्यक काम वाहेक घरबाट बाहिर ननिस्कन आग्रह गर्नुभयो ।
यसै बिच प्रतिनिधि सभा सदस्य कृष्ण भक्त पोख्रेल, भरतपुर महानगर प्रमुख रेनु दाहाल, जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्ण कुमार डल्लाकोटी, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनका अध्यक्ष यम वहादुर परियार र नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले फरक फरक भिडियो सन्देश र सन्देश मार्फत सरकारले आब्हान गरेको मुलुकबन्द पूर्णरुपमा पालना गर्न आव्हान गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस !