चितवनः मेडिकल सिटीका रुपमा परिचय बनाउँदै गएको भरतपुरमा केन्द्रीय शिक्षक अस्पताल बन्ने भएपछि यहाँका स्थानीय, राजनीतिक दल र सरोकारवालाहरु उत्साहित भएका छन् । शिक्षक अस्पतालले सेवासँगै यहाँको विकास, रोजगारी सिर्जना गर्ने भन्दै उनीहरु उत्साहित भएका हुन् ।

दुई ठूला सरकारी अस्पताल, दुई वटा मेडिकल कलेज र २० भन्दा बढी साना ठूला निजी अस्पताल रहेको भरतपुरमा शिक्षक अस्पताल स्थापनासँगै स्वास्थ्य क्षेत्रको थप विकास हुने भएको छ । भरतपुर महानगरपालिका वडा नं. १५ भगवानपुरमा जग्गा उपलब्ध गराउन महानगर सहमत भएसँगै सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले अस्पताल बनाउने सैद्धान्तिक सहमति दिएको हो । शिक्षा मन्त्रालयले शिक्षक अस्पताल बनाउन सम्भाव्यता अध्ययन र जग्गा पहिचान समिति गठन गरेसँगै यहाँ अस्पताल बनाउन भरतपुर महानगरपालिकाले पहल थालेको थियो ।

अस्पताल बनाउन प्रस्ताव गरिएको ठाउँ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको क्षेत्र एवं गाउँ समेत हो । महानगरपालिकाका प्रमुख रेनु दाहालले सो ठाउँमा ८ विगाहा १६ कठ्ठा जग्गा उपलव्ध गराएसँगै सोही ठाउँमा अस्पताल बनाउने निर्णय भएको बताउनुभयो । महानगरपालिकाको प्रयास सफल भएको भन्दै उहाँले यस क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

प्रमुख दाहालले भन्नुभयो “अस्पताल बनेसँगै स्थानीयको जीवनस्तर उकासिने छ । रोजगारी सिर्जना हुने, व्यापार व्यवसाय फस्टाउने र स्थानीय उत्पादन खपत हुनेछ ।” यसले मेडिकल सिटीका रुपमा अघि बढेको भरतपुरको विकासमा थप टेवा पुग्ने उहाँको भनाई छ । आम नागरिकले सहज रुपमा स्वास्थ्य सेवा पाउन यो अस्पताल सहयोगी बन्ने उहाँ बताउनुहुन्छ ।

नेपाली कांग्रेस चितवनका सचिव उत्तम जोशीले शिक्षक आन्दोलनले स्थापित गरेको शिक्षक अस्पताल चितवनमा बन्ने निर्णयले यहाँको समग्र विकास हुने बताउनुभयो । शिक्षकहरुको छुट्टै अस्पताल हुँदै गर्दा यसबाट आम नेपालीले लाभ लिन सक्ने उहाँको भनाई छ । उहाँले भन्नुभयो “चितवनलाई मेडिकल हबको रुपमा विकास गर्न सहयोग पुग्छ ।”

नेकपा एमालेका नेता रामप्रसाद न्यौपानेले भरतपुरलाई साच्चिकै मेडिकल सिटीको रुपमा विकास गर्न अस्पताल सहयोगी हुने बताउनुभयो । उहाँले भन्नुभयो “कार्यान्वयन कसरी हुन्छ, त्यो हेर्न बाँकी नै छ ।” यसले यहाँको स्वास्थ्य सेवालाई थप सुधार गर्दै लैजाने उहाँको भनाई छ ।

माओवादी केन्द्र चितवनका अध्यक्ष यमबहादुर परियारले महानगरको पहलमा जुन उपलब्धी जिल्लाले पायो यो हामी सबैका लागि गौरवको विषय भएको बताउनुभयो । उहाँले भन्नुभयो “अन्य क्षेत्रको विकाससँगै स्वास्थ्य सेवाको विकासमा यसले थप उर्जा भरेको छ ।” महानगरका गाउँगाउँसम्म स्वास्थ्य सेवाको पहुँच पु¥याउन यो सहयोगी हुने उहाँको भनाई छ ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले शिक्षक केन्द्रीय अस्पताललाई मेडिकल कलेजको रुपमा विकास गर्नुपर्ने बताउनुभयो । यसो हुँदा शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा टेवा पुग्ने उहाँको भनाई छ । यो अस्पतालबाट चिकित्सक र सेवाग्राही दुवैले सहज सुविधा पाउने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “स्वास्थ्य शिक्षा पढ्ने विद्यार्थीले सहज र सर्वसुलभ रुपमा उपयोग गर्न पाउनेछन् ।”

चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा.डा. हरिश्चन्द्र न्यौपानेले देशभरिबाट शिक्षकहरु यहाँ उपचार गर्न आउँदा थप सुविधाका लागि मेडिकल कलेजहरु उपयोग गर्न पाउने बताउनुभयो । यसबाट निजी क्षेत्र समेत लाभान्वित हुने उहाँको भनाई छ । उहाँले भन्नुभयो “राम्रो सेवा दिन सक्यौं भने त्यहाँबाट पठाईएका बिरामी अन्यत्र जान पर्दैन, हामीले सेवा दिने अवसर पाउँछौं ।”

नेपालमा स्थायी शिक्षक १ लाख ७ हजार, राहत ४० हजार, पाठ शिक्षक ४० हजार, विद्यालय कर्मचारी ३६ हजार, निजी स्कुलका शिक्षक १ लाख ५० हजार र पूर्ब शिक्षक ३० हजार रहेका छन् । यस अस्पतालले सर्बसाधारणको पनि उपचार गर्ने छ । अस्पताल बन्दै गर्दा कार्यबिधि बन्ने र शिक्षक कर्मचारीले पाउने सुबिधाको बारेमा निर्णय हुने छ ।

प्रतिक्रिया दिनुहोस !