चितवनः नियमित औषधि खाएमा निको हुने कुष्ठरोगका संक्रमितहरु अझै खुल्न डराउँछन् । समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसक्दा उनीहरु खुल्न नसकेका हुन् । संक्रमितहरुसँग समाजले नकारात्मक दृष्टिकोणले हेर्ने हुँदा कतिपय रोग लुकाउन बाध्य छन् भने पत्ता लागेकाहरु पनि लुकेर औषधि उपचार गर्नुपर्ने बाध्यतामा छन् ।

यस्तै बाध्यतामा छिन् भरतपुरकी ४९ वर्षिया एक कुष्ठरोगी महिला । उनी अहिले पनि आफूलाई रोग भएको कुरा गोप्य राख्न बाध्य छिन् । उनी, दुई छोरी र नातिनी कुष्ठरोगी हुन् । उनी सहित दुई छोरीले दुईवर्ष यता औषधि खाँदै छन् भने नातिनीले छ महिनादेखि औषधि खान थालेकी छिन् ।

कान्छी छोरीले भरतपुर अस्पतालमा परीक्षण गराएर औषधि खाएकी हुन् भने अन्य सबैले पोखरामा परीक्षण गराएर नियमित औषधि खान थालेका हुन् । उनीहरु यही परीक्षण गर्दा समाजमा नकारात्मक हल्ला हुने डरले पोखरामा परीक्षण गर्न बाध्य भएका हुन् । उनले भनिन् “घर यहाँ भएपनि स्वास्थ्य परीक्षण र औषधि लिन हामी टाढा जाने गरेका छौं ।” नियमित औषधि पनि भरतपुरमा नगई गीतानगर जाने गरेको उनले कान्तिपुर हेल्थलाई सुनाईन् ।

समाजको डर देखाउँदै उनले थपिन् “छोरा छोरीको विवाह गर्नु छ, कसैले थाहा पाए भने भन्ने विवाह गर्न पनि कठिन हुन्छ, सधैं मलाई पिरलो हुन्छ ।” गाउँमा लाटो फुस्रो दाग देखिएकाहरुलाई कुष्ठरोग परीक्षण गर्न जान सुझाउने भए पनि आफू र परिवारलाई भएको समस्याको बारेमा स्वास्थ्यकर्मी बाहेक अरुलाई नभनेको उनले बताईन् । उनले भनिन् “अहिले औषधि खाँदा पनि समस्या आइरहन्छ, सुनेको छु, अब विस्तारै सधैंका लागि निको हुन्छ रे ।”

नौ वर्षिया नातिनीलाई समस्या देखिएपछि आफूलाई चिन्ता थपिएको उनको भनाई छ । चिकित्सक स्वास्थ्यकर्मीले निको हुन्छ भनेकाले आफू ढुक्क रहेको उनको भनाई छ । संक्रमण देखिएकालाई बेलाबेलामा शरीरका विभिन्न ठाउँमा गाँठागुँठीसहितको घाउहरु आउने गरेको छ । उक्त समस्या औषधि खाएपछि निको हुने गरेको उनको अनुभव छ । रोगबाट क्षति व्यहोर्न नपरोस् भनेर सधैं आफू स्थानीयलाई जनचेतना जगाउने काममा भने सक्रिय रुपमा लागेको उनी बताउँछिन् ।

भरतपुर महानगरपालिका वडा नं। १० का ५५ वर्षिय एक पुरुष पेशाले श्रमिक हुन् । उनको हातको तीन वटा औला कुष्ठरोगले गर्दा झरेको छ । ज्याला मजदुरी गर्ने उनलाई काम गर्ने ठाउँमा हेयको दृष्टिकोणले हेर्ने गरेको अनुभव छ । उनले भने “जहाँ काम गर्न गयो, मानिसहरु नजिक पर्न खोज्दैनन् ।” औषधिको पूरा मात्रा खाएका हुनबाट अब अरुमा रोग सर्दैन भन्ने ज्ञानको अभाव समाजमा अझै व्याप्त छ ।

श्रीमती र दुई छोरालाई ज्यालामजदुरी गरेर पाल्दै आएको बताउने उनले परिवारका अन्य सदस्यलाई भने रोग नसरेको बताए । समयमा उपचार नगराउँदा आफूले तीन वटा औला गुमाउनु परेको बताउँदै उनले भने “लाटो फुस्रो दाग देखिने वित्तिकै परीक्षण गर्नु पर्ने रहेछ । मैले ढिलो गरेँ ।” तीन वटा औला गुमाएको भए पनि नियमित काम भने गरिरहेको उनले बताए । उनले भने “औषधि खान थालेपछि काम भने गरिरहेको छु । अहिले औषधिको मात्रा पूरा भयो । समस्या छैन ।” सबैलाई रोगको बारेमा नभनेको भन्दै उनले रोग थाहा पाउनेले हेर्ने दृष्टिकोण राम्रो नहुने गरेको सुनाए ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले रोगका बारेमा सबैलाई जानकारी हुने गरी सन्देश प्रवाह गरिरहेको बताउनुभयो । नियमित उपचारबाट कुष्ठरोग पूर्ण रुपमा निको हुने र एक मात्रा बहुऔषधि सेवन गरेपछि ९९।९ प्रतिशत किटाणु निस्क्रिय भई अरुलाई नसर्ने उहाँले बताउनुभयो । कुष्ठरोगको औषधि सरकारी स्वास्थ्य संस्थाहरुमा निःशुल्क पाईन्छ । तिवारीले औषधि खाएकाहरुबाट रोग नसर्ने भएकाले समाजले उहाँहरुप्रति सम्मानजनक व्यहार गर्नुपर्ने बताउनुभयो ।

आफ्नो गाउँ समाजमा कुष्ठरोग लागेको शंका लागेमा तुरुन्त परीक्षण गरी औषधि खाने व्यवस्था गर्न उहाँले सबैमा आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “हामीले विभिन्न शिविर र अभियान मार्फत् खोजी जारी राखेका छौं, सबै मिलेर रोगलाई निर्मूल पार्नुपर्छ ।”

भरतपुर महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपक सुवेदीले कुष्ठरोग भएका र निको भएकाहरुको परिवार एवं नजिक रहेर काम गरेकाहरुलाई औषधि खुवाउने काम भईरहेको बताउनुभयो । समयमै उपचारमा गरेमा अपाङ्गता हुनबाट बचाउन सकिने उहाँले कान्तिपुर हेल्थलाई जानकारी दिनुभयो । बिसं।२०५१ सालदेखि हालसम्म जिल्लामा १ हजार ७९१ जनामा संक्रमण भएको तथ्यांक छ । तिनीहरुको परिवार र सम्पर्कमा आएकाहरुको खोजी गरी औषधि खुवाउने काम भईरहेको छ ।

स्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले हाल जिल्लामा ४६ जनाले नियमित औषधि खाईरहेको जानकारी दिनुभयो । जसमध्ये २० जना नयाँ थपिएका हुन् । गत आर्थिक वर्षमा ४५ जना नयाँ रोगी थपिएका थिए ।

नेपालमा कुष्ठरोगको प्रकार प्रति दश हजारमा राष्ट्रियस्तरमा ०.७३, बागमती प्रदेशमा ०.३८ र चितवनमा ०.६४ रहेको छ । नयाँ बिरामी पत्ता लागेको दर प्रति एक लाखमा राष्ट्रियस्तरमा ७.२० र चितवनमा ६.४४ रहेको छ ।

कुष्ठरोगको औषधि खाने थालेपछि सर्दैन भन्ने थाहा हुँदाहुँदै पनि समाजमा कुष्ठरोगीलाई घृणाको दृश्यकोणले हेर्ने नजरमा परिवर्तन ल्याउनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस !