प्रस्ताब सुवेदी
भरतपुर महानगरपालिका वडा नम्बर २२ का श्याम परियार (नाम परिवर्तीत) को पहिलो सन्तानको जन्म छोरीका रुपमा एक वर्षअघि भरतपुर अस्पतालमा भयो । उनकी नवजात छोरीको तौल एक किलो ५ सय ग्राम थियो । जन्मँदाको तौलका हिसाबले उनकी नवजात छोरी अति जोखिममा थिइन् ।
अति जोखिममा रहेका बच्चा भन्नाले शिशुको जन्म हुँदाको तौलको आधारमा मान्ने गरिन्छ । स्वास्थ्य मापदण्ड अनुसार बच्चा जन्मदा न्यूनतम २ किलो ५ सय ग्रामको हुनु पर्ने हुन्छ । त्यसभन्दा कम तौलको बच्चा जन्मदा ती बच्चाहरुमा कुपोषण भएको मानिन्छ । सानो उमेरमा बिबाह गरि बच्चा जन्माउँदा, जुम्ल्याहा बच्चा जन्मनु, आमाको दुध प्रयाप्त नआउनु, रोगको समयमा उपचार नहुनु, पोसिलो खाना समयमा नपाउनु जस्ता कारणले बालबालिकामा कुपोषण हुने गर्दछ ।
श्यामले उमेर पुगेपछि नै विवाह गर्नुभएको थियो । तर गर्भवती श्रीमतीले पर्याप्त पोषण नपाउँदा नवजात छोरी जन्मँदै कुपोषणबाट प्रभावित बन्नुभयो । कम तौलकी नवजात छोरीलाई अस्पतालमा राखेर उपचार गराउनुको साटो श्यामले भोलिपल्टै श्रीमतीको डिस्चार्ज माग्नुभयो । यसरी सुत्केरी श्रीमतीलाई घर लैजान हतार गर्नुको एउटै कारण थियो, घरमा रहेको भैँसी म¥यो भन्ने खबर । स्वास्थ्य चेतनाको अभावमा श्यामले नवजात छोरी र सुत्केरी श्रीमतीको स्वास्थ्यभन्दा घरको भैँसी मरेकोमा बढी चिन्ता बढाउनुभयो ।
यतिमात्र होइन, बच्चा दुव्लो भएपछि खोप लगाउन आउन समेत डर लाग्ने गरेको श्याम बताउनुहुन्छ । दलित परिवारको बच्चामा कुपोषण भेटिदाँ परिवारले स्वास्थ्य संस्थामा ल्याएर उपचार गराउन डराएका थिए । समय अगावै जन्मिएको बच्चा भएकाले दुव्लो भएको होला भन्दै वसेको उहाँले बताउनुभयो । खोप लगाउँदा बच्चामा अन्य समसया देखिन्छ की भन्ने डरले आँफु स्वास्थ्य संस्थामा सल्लाहा गर्न समेत जान डराएको उहाँले सुनाउनु भयो । उहाँले भन्नुभयो “दुब्लो बच्चा भएकाले खोप लगाउँदा बच्चा झन् बिरामी पर्छ कि भनेर मलाई डरलाग्यो । म स्वास्थ्य संस्थामा बच्चाको उपचारका लागि जान सकिन ।”
नवजात शिशु देखि १३ वर्षका बालबालिकामा कुपोषण
चितवन जिल्लामा अझै पनि नवजात शिशु देखि १३ वर्षका बालबालिकामा कुपोषण देखिने गरेको छ । शिक्षित र स्वास्थ्यका दृष्टिले महत्वपूर्ण जिल्लाको रुपमा रहेको यहाँ कुपोषण्का कारण बच्चाहरुमा बिभिन्न समस्या देखिने गरेको पाईन्छ । हरेक बार खाना चार भन्ने अभियानलाई सरकार र स्थानिय तहले अघि सारेको भए पनि गरिब र अशिक्षित ठाउँमा यसको प्रभाव पर्न नसकेको स्वासथ्य कार्यालय चितवनले जनाएको छ ।
स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालका अनुसार अन्न, फलफुल, सागसव्जी, गेडागुडी र दहलन, दुध जन्य पदार्थ, अण्डा, मासुजन्य (माछा, मासु) जरा कन्दमुल लगाएतका खाध्यन्न खुवाउन जरुरी हुन्छ । कार्यालयका अनुसार पछिल्ला तीन वर्षमा जिल्लामा कुपोषण हुने बालबालिकाको तथ्याङ्क उतार चडाप रहेको छ । आर्थिक वर्ष २०७५÷०७६ मा ४ दशमलब ६ प्रतिशत, ०७६÷०७७ मा ३ दशमलब ६ प्रतिशत र २०७७÷०७८ मा ४ दशमलब ५ प्रतिशत बालबालिकामा कुपोषण देखिएको छ । ढकालका अनुसार आर्थिक वर्ष २०७७÷०७८ मा जिल्लामा रहेका १७ हजार ७ सय ७६ जना आमा गर्भबति भएकोमा १५ हजार ७४ जना बच्चा जन्माएका थिए । चालु आर्थिक वर्षमा जिल्लामा ११ हजार ६ सय ४५ जना आमा गर्भवति र ९ हजार ८ सय ९३ वच्चा जन्मने अनुमान गरिएको छ ।
भरतपुर महानगरपालिका स्वास्थ्य महाशाखाको तथ्याङ्क हेर्ने हो भने पछिल्लो २ वर्षमा कुपोषणको शिकार वन्ने बालबालिकाको संख्या वढ्दो क्रममा रहेको छ । भरतपुर महानगरको स्वास्थ्य महाशाखाका जनस्वास्थ्य अधिकृत केशब भट्टका अनुसार आर्थिक वर्ष २०७७–०७८ मा ३२ वालवालिका कुपोषणको जोखिममा रहेका थिए भने सो समयमा तीन जना बालबालिका अति जोखिमामा परेका थिए । ती मध्ये एउटा बच्चालाई भरतपुर अस्पतालको पोषण पुर्नस्थापना केन्द्रमा ल्याएर उपचार गराउनु परेको थियो । चालु आर्थिक वर्षको पहिलो चौमासिकको तथ्याङ्क हेर्नेहो भने यो संख्या वढ्दो रहेको छ । कुपोषणको जोखिममा रहेका बच्चाको संख्या कम भएको भए पनि अति जोखिममा रहेका बच्चाको संख्या वढेको हो । जोखिममा रहेका बच्चाको संख्या २६ जना रहेको छ भने अति जोखिममा रहेका बच्चाको संख्या ४ जना रहेको छ ।
यहाँको भरतपुर अस्पतालमाले पोषण पुर्नस्थापना केन्द्र भरतपुर संञ्चालन गर्दै आएको छ । सन् २०१२ देखि यस अस्पतालमा यो केन्द्र सञ्चालन हुँदै आएको हो । यस केन्द्रमा पछिल्ला तीन वर्षमा ३ सय २४ जना बालबालिकाले सेवा लिई सकेका छन् । जस मध्ये १ सय ९३ जना बालबालिका चितवनका हुन । यहाँ जन्मिएदेखि १८ वर्ष उमेरसम्मका व्यक्तिहरुको उपचार हुँदै आएको छ ।
केन्द्रमा आर्थिक वर्ष २०७५÷०७६ मा १५३ जना, ०७६÷०७७ मा ९० जना, ०७७÷०७८ मा ८१ जना बालबालिकाको उपचार भएको थियो । जस मध्ये चितवनका क्रमश ८८, ६३ र ४२ जना रहेका थिए । चालु आर्थिक वर्षमा २६ जना चितवनका बालबालिकाको उपचार भएको छ । चितवन सहित २३ जिल्लाका बच्चाहरुको यहाँ उपचार हुँदै आएको पोषण केन्द्र हेर्दै आउनु भएका बालरोग बिषेशज्ञ डा. युवानिधि वश्यौलाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “सन्तुलित आहार कसरी खुवाउने भन्ने बिषयमा आमालाई ज्ञान नहुँदा वढि जोखिम देखिएको छ ।” गरिबि र शिक्षाको कमि मुख्य कारण देखिने गरेको उहाँको भनाई छ । पछिल्लो समय शिक्षित परिवारमा समेत कुपोषण देखिन थालेको उहाँले बताउनुभयो । आमा र बुबा दुबै जागिरे एबं व्यवसायी हुँदा बच्चाले समयमा खान नपाउनु र पोषण युक्ता खाना खान नपाउने समसया आउन थालेको उहाँले बताउनुभयो । कोरोना संक्रमण संगै कुपोषणका कारण अस्पतालमा आएर उपचार गराउन डराएर अहिले बालबालिका कम हुने गरेका छन् । अस्पतालले सञ्चालन गरेको सो केन्द्रमा स्थानिय पालिकाले खासै ध्यान दिन सकेको छैन ।
अशिक्षा र अज्ञानताका कारण अभिभावकमा डर कायम हुँदा नवजात शिशुमा कुपोषणको संक्रमण देखिने गरेको पाईएको छ । जिल्लाको सहरी क्षेत्र देखि पहाडी क्षेत्र सम्म कुपोषणको प्रकोप कायमनै रहेको देख्न सकिन्छ । भरतपुर महानगरपालिकाको ग्रामीण वस्ति र जिल्लाका अन्य पालिकाको पाहाडी क्षेत्रका बच्चामा कुपोषणको प्रकोप अझै रहेको देख्न सकिन्छ । ती बालबालिकामा कुपोषण हुनुको मुख्य कारण अभिभाबकको अशिक्षा, अज्ञानता र डर रहेकाकारण कुपोषण देखिने गरेको छ ।
यस जिल्लालाई बिषेशगरी शिक्षा र स्वास्थ्यका दृष्ट्रिले महत्वपूर्ण जिल्लाको रुपमा लिइदैं आईएको छ । उच्च शिक्षा हाँशिल गर्न देशका बिभिन्न स्थानबाट बिद्यार्थीहरु यहाँ आउने गरेका छन् भने उपचारका लागि पनि चितवन सहितका १९ जिल्लाका बिरामी यहाँ आउने गर्दछन् । तर पनि जिल्लामा अझै कुपोषणको शिकारमा यस क्षेत्रका बालबालिका पर्दै आएका छन् । स्थानिय पालिकाहरुले बर्षेनि लाखौ रुपैंया कुपोषका नाममा खर्च गर्दै आएका छन् । तर पनि शहरी क्षेत्र देखि ग्रामिण भेग सम्म अझै कुपोषण रहेको पाईन्छ । भरतपुर महानगरपालिका वडा नम्बर २२ पटिहानीमा रहेका तीन वटा बच्चामा कुपोषण देखिएको भरतपुर महानगरपालिकाको स्वास्थ्य महाशाखाले जानएको छ । स्वास्थ्य महाशाखाका जनस्वास्थ्य अधिकृत भट्टका अनुसार त्यहाँ रहेका दलित, आदिवासी र मुस्लिम समुदायको परिवारमा कुपोषण देखिएको हो । गरिब र न्यून वर्गको परिवारमा अझै पनि यो समस्या रहेको उहाँले बताउनुभयो ।
कुपोषणका लागि १४ लाख
भरतपुर महानगरपालिकाले हरेक वर्ष कुपोषणका लागि लाखै रुपयाँ बिनियोजन गर्दै आएको छ । गत आर्थिक वर्ष पोषण कार्यक्रमका लागि रु ७ लाख ३३ हजार बिनियोजन गरेको थियो । चालु आर्थिक वर्षका लागि यस रकममा बृद्धि भएको छ । रु ११ लाख पोषण कार्यक्रमका लागि र रु ३ लाख पोषण बिशेष (स्वास्थ्य क्षेत्र) कार्यक्रमका लागि बिनियोजन गरेको पाईन्छ । यो बजेट मार्फत महानगरका ३३ वटा स्वास्थ्य संस्थामा पोषण कार्यक्रम सञ्चालनमा रहेको छ । महानगरभित्र रहेका २९ वटै वडामा यो कार्यक्रम लागु भएको भए पनि अझै कतिपय स्थानमा यसको प्रभाव पर्न नसकेको पाईएको छ । गत आर्थिक वर्षमा १ वर्ष मुनिका ४ हजार २ सय ७८ जना, २ वर्ष मुनिका ८ हजार ५ सय २८ जना, ५ वर्ष मुनिका २१ हजार ४ सय ४५ बालबालिका लक्षित कार्यक्रम गरिएको थियो ।
गत बर्ष भरतपुर महानगरमा ४ हजार ३ सय ४६ जना बच्चा जन्मिएका थिए । महानगरमा जनप्रतिनिधि आए पनि स्थानिय स्तरमा पोषण सम्बनिध चेतनाको अभाब देखिन्छ । चेतना जाउने खालका कार्यक्रमहरुमा बजेट अभाव देखिन्छ । जनचेतनाको कार्यक्रमका लागि रु १८ जार बार्षिक रुपमा बिनियोजन हुने गरेको स्वास्थ्य महाशाखाले जनाएको छ ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पोषण कार्यक्रमलाई प्रभावकारी रुपमा अघि वढाईएको बताउनुभयो । स्थानिय पालिकाले आफ्ना जनताको पोषण देखि हरेक कुरामा ध्यान दिदैं आएको उहाँले बताउनुभयो । पोषणका लागि बिनियोजित बजेट अन्य क्षेत्रमा खर्च नभएको उहाँले बताउनुभयो । ग्रामिण क्षेत्रमा केही समस्या देखिएको भए पनि यसलाई समाधान गर्दै अघि वढ्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।
के हो कुपोषण ?
सामान्यतया खाना खाने, चपाउने, पचाउने शोसिने तथा शरीरका बिभिन्न भागमा गएर भण्डारण हुने प्रकृयालाई पोषण भनिन्छ भने पोषक तत्हरुको आबश्यकता र लिइने आहार वीचको असन्तुलन (वढी वा कमि) नै कुपोषण हो । सामान्यतया कुपोषणको स्वरुप वा प्रकार चारवटा हुने गर्दछन् । शिघ्र कुपोषण, दिर्घ कुपोषण, सुक्ष्म पोषक तत्वको कमि र कम तौल । कुपोषण भन्ने बित्तिकै दुई प्रकारका कुपोषण्लाई बुझ्ने गरिन्छ । अधिका पोषण र न्यून पोषण । अधिक पोषणमा अधिक तौल र मोटो पना पर्ने गर्छछन् भने न्यूनपोषणमा उमेर अनुसार कम उचाई, उचाई अनुसार कम तौल, उमेर अनुसार कम तौल र सुक्ष्म पोषक तत्वको कमि भन्ने बुझिन्छ । उचाई अनुसार कम तौल भएका व्यक्तिहरुलाई पनि दुई भागमा बिभाजन गरि हेर्ने गरिन्छ । कडा शिघ्र कुपोषण र मध्यम शिघ्र कुपोषण । कडा शिघ्र कुपोषणमा सुकेनास, फुकेनास र सुकेनाससहितको फुकेनास पर्दछन् ।

प्रतिक्रिया दिनुहोस !