काठमाडौं। सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोना भाइरस विरुद्धको खोप लगाउने तयारी गरेको छ। ५ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउन फाइजर खोप खरिदका लागि प्रक्रिया अगाडि बढाइएको स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले जानकारी दिनुभयो।

डा मरासिनीका अनुसार बालबालिकालाई पुग्ने गरी ८४ लाख डोज खोप खरिदका लागि प्रस्ताव पठाइएको छ। सो खोप प्राप्त भएपछि २ डोजको रुपमा ४२ लाख बालबालिकालाई पुग्ने अनुमान गरिएको डा मरासिनीले जानकारी दिनुभयो। ‘अहिले नयाँ उत्पादन भएको फाइजरको खोप ५ वर्ष देखि माथि उमेरका बालबालिकालाई लगाउन मिल्ने भनिएको छ,’ डा मरासिनीले भन्नुभयो “५ वर्ष माथि देखि १२ वर्षसम्मका बालबालिकालाई हामीले खोप लगाउन पाएका छैनौं, अब खरिद गरेर उनीहरुलाई पनि खोप लगाउने योजना गरेका छौं।”

यसअघि नेपालमा १२ देखि १८ वर्ष उमेर समुहका बालबालिकालाई मोर्डना र फाइजरको खोप दिइएको छ।

प्रतिक्रिया दिनुहोस !