तिहार भन्नेबित्तिकै फूल र बत्तिको मात्र चाड होइन, अनेक पकवान र मिठाई लगायत स्वादको समेत उत्सव हो । मिठाई भनेपछि के बच्चा, के पाका सबैको मुख रसाइहाल्छ ।
चाडपर्व हो भनेर मानिसहरुमा स्वास्थ्यको ख्याल नै नगरी जथाभावी खानेकुरा खाने बानी रहेको हुन्छ, तर यसरी मनलागि खाँदा स्वास्थ्यमा नकरात्मक असर पार्छ । तिहारको समयमा प्रयोग हुने धेरै जसो बजारिया खाद्य सामाग्री अस्वस्थ पाइने गरेको समाचार विभिन्न सञ्चार माध्यमबाट आउने गरेका छन् । चाडपर्वमा स्वास्थ्य सुरक्षित हुनु महत्वपूर्ण हुन्छ । जो मानिस दीर्घ रोगीबाट ग्रसीत छन्, जस्तै : डाइबिजिट, मुटुरोग, मधुमेह, उच्च रक्त्त चापजस्ता रोग भएका मानिसले सकेसम्म कम मिठाई खानुपर्छ ।बजारमा पाइने मिठाईमा अत्याधिक चिल्लो, अखाद्य रंगहरु मिसाइएको हुन्छ । जसको प्रयोगले हात तथा छालामा एलर्जी हुने गर्दछ ।
तिहारमा दिदीबहिनीले आफ्ना दाजुभाइलाई माया गरेर स्वास्थ्य राम्रो होस् र दीर्घायु होस् भनेर कामना गर्ने हो भने सकेसम्म बजारको मिठाई किनेर उनीहरूलाई दिनुहुँदैन ।नाम चलेको ठाउँबाट किनेको मिठाई राम्रो हुन्छ भन्ने भ्रम रहेको छ, हामीमा । बजारमा राखिएका मिठाईमा धेरै चिल्लो हुन्छ । जुन मिठाईलाई बारम्बार एउटै तेलमा पकाइएको हुन्छ । त्यसले यस्तो किसिमको वस्तु उत्पादन गर्छ कि, मुटुलाई प्रत्यक्ष रूपमा असर गर्ने गर्दछ ।
घरमा बनाएको मिठाईको सामग्री बजारको भन्दा अत्यन्तै राम्रो हुन्छ । तिहारमा दाजुभाइलाई मरमसला दिने गरिन्छ । त्यो एकदम राम्रो चलन हो मरमसला भएको नरिवल, छोकडा, काजु, किसमिस, बदाम स्वास्थ्यबद्र्धक सामग्री हो ।
हरियो तरकारी अहिले प्रशस्त मात्रामा पाइने गर्छ । तिहारमा सेल रोटीको साथमा हरियो तरकारी खाँदा स्वास्थ्यका लागि राम्रो हुन्छ । चाडपर्वमा पाइने बजारका गुलिया मिठाईमा गुणस्तरहीन र पटक–पटक प्रयोग गरिएको तेलको प्रयोग हुन्छ । खानेकुरामा हालिने रंग नहाली कपडामा हाल्ने रंगको प्रयोग गरिएको हुन्छ । यसले मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने गर्छ । त्यसैले बजारको मिठाई सकेसम्म प्रयोगै नगर्ने गर्नैपरे पनि कम प्रयोग गर्नुपर्छ । मिठाईमा प्रायः मैदा र चिनी प्रयोग गरिएको हुन्छ । चिनी र मैदा पनि स्वास्थ्यका लागि अधिक हानिकारक हुन्छन् ।
मिठाईमा राखिने टल्किने वस्तुमा आल्मुनियम मिसावट गरिएको हुन्छ । मिठाईमा पहिला नबिकेका सामग्री तथा म्याद नाघिसकेका पिठो, तेल घिउको प्रयोग समेत हुने गर्छ । सडेगलेका र मिसावटयुक्त खाद्य पदार्थको उपभोग गर्दा झाडा पखला, टाइफाइट, फुड पोइजन, पेट दुख्नेजस्ता समस्या निम्त्याउन सक्छ ।धेरैबेर भोकै बसेर चिल्लो खाँदा ग्यास्ट्रिकको समस्या उत्पन्न हुन्छ । चिल्लोका कारण एसिडिटी बढेर डकार आउन सक्छ । धेरै क्यालोरीयुक्त खानाले तौलका साथै शरीरमा कोलस्ट्रोलको मात्रा बढ्छ ।
चिल्लो खाँदा धेरै कब्जियत हुन सक्छ । चिल्लोले अमन भएर खानेकुरा रुचि नहुन सक्छ । त्यसैले सागपात, फलफूलजस्ता रेसादार खानेकुरा खानु उपयुक्त हुन्छ । तिहारमा धेरै चिल्लो तथा गुलियो खानेकुरा बनाइने हुँदा स्वास्थ्यलाई ध्यान दिएर खानु बुद्धिमानी हुन्छ ।






