चितवनः प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले अस्पताल चिकित्सक बस्न सक्ने स्थानमा सञ्चालनमा ल्याउनु पर्ने बताउनुभएको छ । प्राथमिक स्वास्थ्य केन्द्र शिवनगरको अनुगमन निरिक्षण पछि उहाँले अस्पतालहरु जनताले सेवा लिन सक्ने र चिकित्सक जान र बस्ने सक्ने स्थानमा निर्माण गरिनु पर्ने बताउनुभएको हो । देशभर ७ सय ५३ पालिकामा अहिले पालिका स्तरीय अस्पताल निर्माणको काम भइरहेको भन्दै उहाँले अस्पताल निर्माण गर्दा योजना वनाएर गर्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो “सय दिनमा के गर्ने, ६ महिनामा के गर्ने र एक वर्षमा के गर्ने योजना वनाएर काम गर्नुस । जनताले सेवा पाउनु प¥यो ।” सरकारी अस्पतालमा कार्यरत चिकित्सकहरुलाई बाहिर काम गर्नु नपर्ने गरि सरकारले योजना वनाई रहेको उहाँको भनाई थियो । उहाँले भन्नुभयो “सरकारी अस्पतालहरुमा कार्यरत चिकित्सकहरुलाई सेवा सुबिधा थप गरेर भए पनि बाहिर जान रोक्ने तफ सरकारले काम गरिरहेको छ।” यसका लागि कार्यदल वनाएर काम भईरहेको उहाँको भनाई थियो । पालिकाहरुले सञ्चालन गरेका अस्पतालहरुबाट समेत बिशिष्ठिकृत सेवा दिने योजना वनाउन उहाँले आग्रह गर्नुभयो । भरतपुर महानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष ओमप्रसाद पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष बाबुराम दाहाल, वडा सदस्य प्रकाश गुरुङ र डा। सागर पौडेलले अस्पतालका बारेमा जानकारी गराउनु भएको थियो । भरतपुर महानगरपालिकाको कार्यपालिका बैठकले शिवनगर स्वास्थ्य केन्द्र र सारदानगर स्वास्थ्य केन्द्रलाई पालिका स्तरीय अस्पतालको रुपमा बिकास गरेर सञ्चालनमा ल्याएको छ । कार्यक्रम बिहान ८ वजे देखि १० वजे सम्म सञ्चालन भएको थियो ।






