चितवन : वर्षैभर रगतको अभाव हुने यहाँ जन्म दिनको दिनमा रक्तदान गर्ने प्रचलन शुरु भएको छ । अस्पतालमा रहेका बिरामी र घाईतेका लागि सबैजसो समयमा रगत पु¥याउन रक्तसञ्चार केन्द्रलाई मुस्किल पर्ने गर्दछ । कतिपयले आफन्त र चिनेजानेकासँग अनुरोध गरेर मिल्दो समूहको रगत प्रशोधन गरेर लिने गर्दछन् ।
४२ औं जन्मदिनको अवसरमा नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले आज सबेरै रक्तदान गर्नुभयो । त्यसो त उहाँले आफ्नो रगतलाई प्रशोधन गर्न लाग्ने रु.८५० पनि आफैले तिर्नुभयो । उहाँले जन्मदिनमा रक्तदान गरेको यो छैठौं वर्ष हो । उहाँले अहिलेसम्म ५० पटक रक्तदान गरिसक्नु भएको छ । उहाँले भन्नुभयो “मिल्ने जति सबैले जन्म दिनमा मात्रै रक्तदान गरे पनि अभाव पूर्ति हुन्छ ।”
आफ्नो शरीरले मिलेसम्म बाँचुन्जेल रक्तदान गर्ने उहाँको भनाई छ । उहाँले भन्नुभयो “यस अभियानमा सबैलाई जुट्न म अनुरोध गर्दछु ।
क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार केही दिन अघि नेपाली कांग्रेसका युवा नेता आनन्द राउतले आफ्नो जन्मदिनमा रक्तदान गरेर लाग्ने प्रशोधन खर्च पनि तिर्नुभएको थियो । उहाँको रगत एक जना बिरामीले निःशुल्क पाएको पौडेलले बताउनुभयो ।
विगतका वर्षदेखि नै सामाजिक अभियानमा राउत पनि सक्रिय रहेको पौडेल बताउनुहुन्छ । एकिन तथ्यांक नभए पनि यसरी जन्मदिनको दिन रक्तदान गर्न आउनेहरु बढेको उहाँको भनाई छ ।
रक्तसञ्चार केन्द्र सञ्चालन गर्दै आएको नेपाल रेडक्रस सोसाइटी चितवनका मन्त्री हरि पौडेल, राजनीति दल र तिनका भातृ र शुभेच्छुक संघ संगठनसँगै विभिन्न संघ संस्थाको सहकार्यको कारण रगत आपूर्ति गर्न सहज हुँदै आएको बताउनुहुन्छ । जन्मदिनको दिन रक्तदान गर्ने प्रचलन बढेको भन्दै उहाँले सबैलाई साथ र सहयोगका लागि अनुरोध गर्नुभयो ।
जिल्लामा वार्षिक ४० हजार युनिट हाराहारी रगतको माग हुने गरेको छ । यहाँका सरकारी भरतपुर अस्पताल, दुई ठूला मेडिकल कलेज, वीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल र दुई दर्जन हाराहारी निजी अस्पतालहरुमा रगतको माग हुने गर्दछ ।
क्यान्सरका बिरामी, ठूलो संख्यामा हुने प्रसुती, दुर्घटनाका घाईते र ठूला शल्यक्रिया (मेजर अप्रेसन) यहाँ हुने भएकाले माग बढी भएको हो । नेपाल रेडक्रस सोसाइटी चितवनका सभापति ज्ञानशाली न्यौपाने क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले विगतमा यहाँ संकलन गरेको रगत राजधानी काठमाण्डौं, पोखरा लगायतका ठूला शहरमा पठाउने गरेको भए पनि पछिल्ला वर्षहरुमा बाहिरी जिल्लाबाट यहाँ ल्याउनु पर्ने अवस्था आएको बताउनुभयो । जिल्लामा दैनिक १५० युनिट हाराहारी रगतको माग हुने गर्दछ ।






