चितवनः कोभिड १९ को पहिलो लहरमा सङ्क्रमितको वरिपरि जान स्वास्थ्यकर्मी पनि हच्किने गर्थे । दोस्रो लहरसँगै उनीहरु सङ्क्रमितको सामिप्यमै पुगेर सेवा दिईरहेका छन् । सङ्क्रमण निकै फैलिएको छ, सङ्क्रमित गम्भीर हुने संख्या पनि धेरै छ ।

पहिलो लहरको तुलनामा दोस्रो लहरको सङ्क्रमणमा अग्रमोर्चामा काम गर्ने स्वास्थ्यकर्मी लगायतका कमै संक्रमित भएका छन् । दोस्रो लहरमा अहिलेसम्म अग्रमोर्चामा काम गर्ने जिल्लामा कसैले ज्यान गुमाउनु परेको छैन । जिल्लाको तथ्यांक केलाईरहनु भएका स्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकाल हालसम्म दुई डोज भ्याक्सिन लगाएका कसैको पनि मृत्यु नभएको बताउनुहुन्छ ।

उहाँको भनाईमा वैशाख यता ५ हजार ८४६ जना सङ्क्रमित भएका छन् । उनीहरु मध्ये टेलिफोन लाग्नेहरुलाई सोध्दा ९० प्रतिशत एक डोज भ्याक्सिन पनि नलगाएको रहेको उहाँले जानकारी दिनुभयो । १० प्रतिशतमा कार्यालयको जानकारीमा न्यून संख्यामा मात्रै दुई डोज लगाएका रहेको उहाँको भनाई छ ।

जिल्लामा चैत ३१ पहिले स्वास्थ्यकर्मी ४९३ जना सङ्क्रमित भएका थिए । त्यस यता १५५ जना सङक्रमित भएका छन् । ती मध्ये केहीले भ्याक्सिन लगाएको भए पनि अन्यले लगाएका छैनन् । दुई डोज भ्याक्सिन लगाएकाहरु गम्भीर बिरामी नपरेको उहाँ बताउनुहुन्छ ।

कार्यालयका प्रमुख दिपक तिवारी हालसम्म डबल डोज भ्याक्सिन लगाएका कसैको पनि मृत्यु भएको जानकारी नरहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो “दोस्रो डोज लगाएर १५ दिन कटेकालाई सङ्क्रमण भईहाले पनि अवस्था सामान्य नै छ ।” अग्रपंक्तिमा काम गर्नेहरुलाई भ्याक्सिनले बचाएको तिवारी बताउनुहुन्छ । उहाँले अगाडि भन्नुभयो “दोस्रो डोज लगाएर १५ दिन कटेकाहरु अस्पताल भर्ना हुनु परेको छैन ।” अन्य कारणबाट अस्पताल भर्ना भए पनि कोभिडकै कारण अस्पताल भर्ना हुनु पर्ने अवस्था नआएको उहाँको भनाई छ । पहिलेभन्दा अहिले सङ्क्रमित निकै गम्भीर बनेको भए पनि भ्याक्सिनकै कारण स्वास्थ्यकर्मी सुरक्षित रहन सकेको तिवारीको तर्क छ ।

चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्धनिर्देशक प्रा.डा.हरिश्चन्द्र न्यौपाने अध्ययनले पनि दुई डोज लगाईसकेकाहरुको सङ्क्रमण दर निकै कम भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो “भ्याक्सिनकै कारण आज स्वास्थ्यकर्मी निर्धक्कसँग काम गरिरहेका छन् ।” भ्याक्सिन लगाएकाहरुको मनोबल उच्च रहेकाले अस्पताल व्यवस्थापनमा पनि सहज भएको न्यौपानेको भनाई छ ।

पहिलेको तुलनामा सघन उपचार कक्षको क्षमता चार गुणभन्दा बढी बढाईएको छ । प्रत्यक्ष सङ्क्रमिततसँग काम गर्नुपर्ने स्वास्थ्यकर्मीको संख्या निकै बढी छ । भ्याक्सिनकै कारण सङ्क्रमितसँगै रहेर काम गर्दा समेत सुरक्षित हुन सकेको न्यौपाने बताउनुहुन्छ । उहाँले भन्नुभयो “भ्याक्सिनले काम नगरेको भए अस्पताल व्यवस्थापन गर्न कठिन हुन्थ्यो ।”

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी सङ्क्रमितको संख्या बढेसँगै अस्पतालहरुले क्षमता चार गुणभन्दा बढी थप्दा समेत स्वास्थ्यकर्मी सुरक्षित भएर काम गर्न सकेको बताउनुहुन्छ । पहिले स्वास्थ्यकर्मी निकै त्रसित हुने सङ्क्रमित वरपरसम्म पुग्न डराउने गरेको भन्दै उहाँले भन्नुभयो “अहिले स्वास्थ्यकर्मीले सङ्क्रमितलाई प्रत्यक्ष छोएर उपचार गर्दा समेत बचेका छन् ।” दैनिक आफू काम गरेको अस्पतालमा सङ्क्रमितको मृत्यु भईरहँदा पनि स्वास्थ्यकर्मीले निर्धक्कसाथ काम गरिरहेको उहाँको तर्क छ ।

दुई डोज भ्याक्सिन लगाएकाहरु गम्भीर बिरामी नपरेको र हालसम्म यहाँ मृत्यु नभएका कारण स्वास्थ्यकर्मीमा मनोबल उच्च रहेको अधिकारी बताउनुहुन्छ । पहिलो लहरमा सङ्क्रमितहरुमा लक्षण कम र सामान्य अवस्थामा थिए, अहिले अधिकांश अस्पताल आउने गम्भीर रहेका छन् । तिनै गम्भीर सङ्क्रमितको बीचमा रहेर काम गर्दा समेत स्वास्थ्यकर्मीमा त्रास नभएको अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “पहिलेकै अवस्थामा स्वास्थ्यकर्मी सङ्क्रमित भएको भए उपचारमा समस्या आउँथ्यो ।”

नेपाल पत्रकार महासंघ चितवनका सल्लाहकार तिलक रिमालका अनुसार भ्याक्सिन लगाएका पत्रकार कम सङक्रमित भएका छन् । वैशाख यता सङ्क्रमित ६ जना पत्रकार मध्ये ४ जनाले भ्याक्सिन लगाएका छैनन् । भ्याक्सिन लगाएका दुई जनालाई खासै समस्या नदेखिएको उहाँले जानकारी दिनुभयो । वैशाख अघि जिल्लाका १६ जना पत्रकार सङ्क्रमित भएका थिए । उहाँले भन्नुभयो “चितवन अहिले हटस्पट बनिरहेको छ, पत्रकार साथीहरु काममा हिड्नुहुन्छ, तर भ्याक्सिनले बचाएको छ ।”

जिल्लामा पहिलो भ्याक्सिन बि.सं. २०७७ माघ १४ देखि २४ गतेसम्म अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सरसफाईकर्मी, एम्बुलेन्स चालक, महिला स्वयंसेविका, कैदीबन्दी र बृद्धाश्रमका बृद्धबृद्धालाई लगाईएको थियो । त्यतिबेला ६ हजार ९७३ जनाले भ्याक्सिन लगाएकोमा ४ हजार ३९७ जना स्वास्थ्यकर्मी रहेका थिए । दोस्रो चरण फागुन २ देखि १० गतेसम्म स्थानीय तहका कर्मचारी, निजामती, पत्रकार, बैंक तथा वित्तिय संस्थाका कर्मचारी, जनप्रतिनिधि लगायतलाई भ्याक्सिनन लगाईएको थियो । यो चरणमा ६ हजार ५२७ जनाले भ्याक्सिन लगाएकोमा ६३९ जना छुटेका स्वास्थ्यकर्मी रहेका थिए । तेस्रो पटक ६५ वर्ष माथिका जेष्ठ नागरिकलाई फागुन २३ गतेबाट चैत २ गतेसम्म भ्याक्सिन लगाईएको थियो । त्यतिबेला ३६ हजार ३७९ जनाले भ्याक्सिन लगाएका छन् । पहिलो र दोस्रो चरणमा लगाएकाहरुलाई वैशाख ७ गतेदेखि १३ गतेसम्म दोस्रो डोज भ्याक्सिन लगाईएको थियो ।

जेष्ठ नागरिक बाहेक अन्यले दोस्रो डोज लगाईसकेका छन् । केही छुटेका बाहेक अन्यले दोस्रो डोज लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । छुटेकाहरुलाई पनि लगत संकलन गरेर लगाईने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !