चितवनः चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको साउन यता तीन वटा हात्ती मरेका छन् । ती हात्ती बिभिन्न कारणले मरेको निकुञ्ज प्रशासनले जनाएको छ ।
निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. विजय श्रेष्ठका अनुसार दिपेन्द्र गज, बिक्रम प्रसाद र सुन्दरमाला मरेका हुन । दिपेन्द्र क्षयरोगका कारण मरेको आशंका गरिएको छ । बिक्रम प्रसाद बामपुड्के रहेको थियो । उसको उमेर पुगेर मरेको श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “पामपुड्के जनावरको आयु अन्यको जस्तो हुँदैन ।” त्यस्तै सुन्दरमाला बुढो भएर मरेको उहाँले जानकारी दिनुभयो । सुनदरमाला ७५ वर्षको रहेको थियो ।
दिपेन्द्र र सुन्दरमाला सौराहामा रहेका थिएका थिए भने बिक्रमप्रसाद वेलसहर पोष्टमा रहेको थियो । सुन्दरमाला पोथि हो भने दिपेन्द्र र बिक्रम भाले हात्ती हुन् । निकुञ्जका हात्तीमा क्षयरोगको आशंका गरिए संगै नमुना संकलन गरेर परिक्षणका लागि राखिएको छ । हाल निकुञ्जमा ५९ वटा हात्ती रहेका छन् ।
हात्ती संगै निकुञ्जमा यसै अबधिमा ५१ वन्यजन्तु मरेका छन् । निकुञ्जका अनुसार मरेका वन्यजन्तुमा सबैभन्दा धेरै गैंडा छन् । चालु आर्थिक बर्षमा मात्रै १७ वटा गैंडा मरेका छन् । जसमा ४ वटा चोरी सिकारीबाट मरेका हुन भने १३ वटा प्राकृतिक कारणले मरेको निकुञ्ज प्रशासनले जनाएको छ । पछिल्लो समय गैँडा मर्ने क्रम बढेसँगै निकुञ्जले संरक्षणको लागि गम्भीरर्तापूर्वक अध्ययन थालेको छ । निकुञ्जका सहायक संरक्षण अधिकृतको नेतृत्वमा तीन सदस्यिय टोलिले गैंडाको मृत्युको कारणको अध्ययन थालेको छ ।
त्यसै गरी १६ वटा चित्तल मरेका छन् । जसमध्ये ११ वटा कुकुरको आक्रमणबाट तथा ६ वटा मेसजालिमा अड्किएर र बच्चा जन्माउन नसकेर मरेका हुन ।
चितुवाको आक्रमणबाट ५ वटा बंदेल मरेका छन् । त्यस्तै यसै अबधिमा २ वटा चितुवा, २ वटा रतुवा, एउटा जरायो, एउटा लगुना, एउटा दुम्सी, एउटा बाँदर र एउटा कछुवा मरेका छन् ।
यिनीहरु मध्ये केही सडक दुर्घटना, वन्यजन्तुको आक्रमण, चोटपटक लागेर, निकुञ्जको तारमा अल्झेर तथा केही उपचारका क्रममा मरेका हुन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले सवारि दुर्घटना र अन्य जनावरको आक्रमणबाट बन्यजन्तु मर्ने गरेकोले संरक्षणका लागि काँडे तार तथा मेसजालि लगाइएको बताउनुभयो ।
कतीपय बन्यजन्तु निकुन्जकै मेसजालिमा ठोक्किएर मर्ने गरेको हुँदा ती जालिहरुलाई पनि व्यबस्थित गर्न लागिएको उहाँले जानकारी दिनुभयो । बन्यजन्तु चोरी शिकार नियन्त्रणका लागि आसपासका बस्तीमा विषेश निगरानी समेत बढाएको उहाँले बताउनु भयो ।
निकुञ्जका पोष्टमा खटिएका नेपाली सेना, निकुञ्जका कर्मचारी र मध्यवर्तीका वासिन्दा सबै वन र वन्यजन्तुको सुरक्षामा लागि परेको उहाँको भनाई छ ।





