चितवनः यहाँको सामुदायिक वनले रुखका जराहरुमा बिभिन्न किसिमका आकृतिहरु कुँदेर जरा पार्क निर्माणको काम सुरु गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर ६ मा रहेको नवज्योती मध्यवर्ती सामुदायिक वनले वन भित्र रहेका जराहरुमा आकृति कुँदेर जरा पार्क बनाउन लागेको हो ।

नवज्योती मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रामप्रसाद तिमिल्सिनाका अनुसार अहिले सुरुवाती समयमा चार वटा जरामा आकृति कुँदिएको छ । जसमा शिव, गणेश, गौतमबुद्धको आकृति रहेका छन् भने एउटामा बिभिन्न किसिमका जनावरहरुको आकृति रहेको छ । उहाँले भन्नुभयो “हामीले १६ वटा जारामा आकृति दिएर राख्ने योजना सहित काम गरिरहेका छौ ।”

अन्य जराहरुलाई सफा गरेर रंग लगाएर राख्ने योजना रहेको उहाँले सुनाउनुभयो । उहाँका अनुसार जरामा कुर्सी बनाउने, ढिकी, रंगटे पिङ्, चिप्लेटी, पिर्के पिङ् लगायतका काठका सामानहरु निर्माण गरिने छ । यस्तै जराहरुमा बाघ, गैंडा, जरायो, चित्तल, बिभिन्न किसिमका चराहरुको आकृति निर्माण गरी आकर्षक बनाईने छ ।

रुखका जराहरुलाई सदुपयोग गर्दै पर्यापर्यटनसँग जोड्ने काम गर्न लागिएको उहाँले बताउनुभयो । यही सामुदायिक वनभित्र रहेको किङ्फिसर तालको संरक्षण गर्दै वन, वन्यजन्तु र वातावरणलाई प्रभाव नपार्ने गरी पर्यटनसँग जोड्ने योजनाका साथ काम गरिएको उहाँले जानकारी दिनुभयो । यस वनका उपभोक्ताहरुलाई आय आर्जनसँग जोड्न टेवा पुग्ने विश्वास लिईएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “सीमित स्रोत साधनका बीच कामलाई अघि वढाएका छांै । स्टोन पार्कको मोडलमा यसलाई विकास गर्ने योजना छ ।”

अहिले जरामा आकृति निर्माणका लागि स्थानीय कालिगढहरुले काम गरिरहनु भएको छ । अहिले दैनिक चार जना कालिगढले जरामा बिभिन्न किसिमका आकृति बनाउने काम गरिरहनु भएको छ । बालबालिकादेखि वृद्ध–बृद्धासम्मलाई मनोरञ्जन लिन मिल्ने गरी जरा पार्क निर्माण गर्न लागिएको हो ।

यहाँका मध्यवर्ती सामुदायिक वनहरुले पार्क निर्माण गरेर आयआर्जनका काम गर्दै आएका छन् । चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकहरु समेत यस्ता पार्कमा रमाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !