चितवनः जिल्लामा ४८० जनामा क्षयरोगको संक्रमण देखिएको छ । चालु आर्थिक वर्षको हालसम्ममा ती बिरामीमा यो रोगको संक्रमण देखिएको हो ।

जनस्वास्थ्य कार्यालय चितवनका क्षयकुष्ठ अधिकृत जयराम दुवाडीका अनुसार साउन यता २ हजार ६५६ जनाको परीक्षण गरिएकोमा उनीहरुमा यो रोगको संक्रमण देखिएको हो । जस मध्ये ८१ जनाले ६ महिनाको औषधि पूरा गरेका छन् भने अहिले नियमित औषधि सेवन गर्दै गरेका ३९९ जना रहेका छन् । उहाँका अनुसार संक्रमितहरुले जिल्लाका १०७ वटा औषधि वितरण गर्ने संस्थाबाट नियमित औषधि सेवन गर्दै आएका छन् ।
क्षयरोग प्रमाणित गर्नका लागि जिल्लामा ३२ वटा सेन्टरहरु रहेका छन् । जसमा २८ वटा माइक्रोस्कोप र ४ वटा जिन एक्स्पर्ट गर्ने संस्था रहेका छन् । जिल्लामा गत वर्ष १ हजार ८९ जनामा क्षयरोगको संक्रमण देखिएको थियो । जस मध्ये चार सय महिला र ६८९ पुरुष रहेका थिए । यहाँका सात वटै पालिकामा यो रोगका संक्रमितहरु रहेको उहाँले बताउनुभयो । गत वर्ष १३ हजार १०७ जनाको परीक्षण गरिएको थियो ।

यो रोग माइक्रोब्याक्टेरियम ट्यूबरकुलोसिस नामक व्याक्टेरियाको संक्रमणका कारण हुने रोग हो । रोग लागेको सुरुवाती अवस्थामा थोरै काम गर्दा पनि थकान महसुस हुने गर्छ, कमजोरी महसुस हुन थाल्छ । मानिसहरूले यस्ता लक्षणलाई गम्भीरतापूर्वक लिँदैनन्, जसकारण विस्तारै क्षयरोगको व्याक्टेरियाले संक्रमण भई गम्भीर समस्या निम्त्याउँने उहाँले बताउनुभयो । रुघाखोकी लाग्नु, ज्वरो आउनु क्षयरोगको प्रारम्भिक लक्षण हो । सामान्यतया यस्ता समस्या पाँच दिनभित्रमा ठिक पनि हुन्छन् । तर, लगातार रुघाखोकी लागिरह्यो, ज्वरो कम भएन, दुई हप्तासम्म पनि खोकी रहिरह्यो भने तुरुन्तै चिकित्सककहाँ जानुपर्छ ।

यो रोग लागेमा सूर्ति मिसाएर बनेका कुनैपनि पदार्थ सेवन नगर्ने, शुरु गरेको भए तुरुन्तै छोड्ने गर्नुपर्छ । अधिक मदिरा, लागुपदार्थ वा औषधि सेवन गर्न नहुने उहाँले जानकारी दिनुभयो । स्वास्थ्यकर्मीको परामर्श लिई नियमित रुपमा पूरा समय (६ देखि ८ महिना) सम्म निःशुल्क प्राप्त हुने औषधि सेवन गर्ने, औषधि सेवन गर्न शुरु गरेपछि स्वास्थ्यकर्मीको सल्लाह अनुसार समय–समयमा परीक्षण गर्ने जस्ता कार्यहरु गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !